लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव

<span class='c1'>लिम्बू संस्कृति पुस्तान्तरण</span> <span class='c2'>गर्न इलाममा महोत्सव</span>

इलाम । आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ ।

चुम्लुङ महासचिव निरन्तर तुम्बापोले चुम्लुङ सङ्घीय कार्यसमिति तथा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा यही यही फागुन २४ र २५ गते महोत्सव तथा २५ औँ राष्ट्रिय चुम्लुङ आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

“फागुन २५ गते साँझ सहभागी सबैलाई तरेचा (सांस्कृतिक परिकार)मा सहभागी गराइने छ”, चुम्लुङ महासचिव निरन्तर तुम्बापोले भन्नुभयो । राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने उहाँको भनाइ छ । इलामस्थित चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले पूर्वका नौ, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाबाट पनि सहभागिता जनाइने छ ।

लिम्बुवान प्रदेश कार्यसमिति र नेवा-ताम्सालिङ प्रदेश कार्यसमिति, थप छ विषयगत सङ्गठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधि, सम्बन्धनप्राप्त लिम्बूजन्य तथा थरगत संस्थाका प्रतिनिधि, व्यवस्थापक जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य र अन्य गरी करिब दुई सय ३० जना छलफलमा सहभागी हुने छन् ।

“त्यस अवसरमा करिब दुई सय च्याबु्रङ नृत्य (केलाङ)सहित सांस्कृतिक कला प्रस्तुत गरिने छ”, महासचिव तुम्बापोले भन्नुभयो, “सहभागीले तागा (पुरुषले लाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गर्ने छन् ।” महोत्सवमा मालाङ (धाननाच) पनि प्रस्तुत गरिने छ । चुम्लुङ सङ्घीय उपाध्यक्ष कमल तिगेलाले भन्नुभयो, “सांगठानिक तथा प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति-कार्यक्रम तय गरिने छ ।”

यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसान हिम अवधारणा, याकथुङ-लिम्बू भाषा विकासको योजना बनाइने पनि उहाँले जानकारी दिनुभयो । इलाममा विजयबहादुर लिम्बूलगायतका सहिदको लिम्बुवानका लागि बलिदानको चर्चा र लिम्बू याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा पनि गरिने उहाँको भनाइ छ ।

महोत्सव उद्घाटनका दिन इलामस्थित नारी विकास सङ्घको कार्यालयको प्राङ्गणबाट सुरु हुने सांस्कृतिक झाँकीसहितको प्रदर्शन इलाम चोक बजार पुगेर समारोहमा परिणत हुनेछ । इलाममा २०४६ सालमा चुम्लुङ गठन भएको हो । चुम्लुङले आदिवासी याकथुङ-लिम्बू समुदायको सांस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा लामो समयदेखि काम गरिरहेको चुम्लुङ इलामका सचिव राम योङहाङले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्