-भरत गुरागाई (बर्बरिक)
प्रमिथसले
स्वर्गबाट चोरेर ल्याएको
एक झिल्को आगो तापेर नै
मैले आदिम कालदेखि
आफूलाई जोगाएको हुँ ।
मुना-मदनको कथा सुनेँ
लैला मजनुको कथा सुनेँ
शाहजहाँ-मुमताजको कथा सुनेँ
यही आगो तापेर बसिरहेको थिएँ
क्रौन्च पंक्षी गुँडबाट फ्यात्त झर्यो र
मुटु फुटेर मर्यो ।
लाग्यो-
यो प्रेम भन्ने कुरा
अग्निको न्यानो लिँदै
मुटुभित्र बस्छ कि क्या हो !
त्यही भएर
करङले घेरेर, मासु र छालाले छोपेर
जतनले राखेको हुँ मुटुलाई ।
मैले मेरो प्रेम तिमीलाई दिएदेखि
मुटु पनि दिएको हुँ
प्रमिथसले ल्याएको आगोले
न्यानो पारिरहनू ।
म जहाँ गए पनि
मुटुविहीन हिँडिरहन्छु ।