-शारदा भट्टराई
मिठा राम्रा राम्रा असल कविता लेख्न म सकूँ
बनूँ यस्तो द्रष्टा गगन पृथिवी देख्न म सकूँ
सधैँ पढ्ने राम्रो मधुर स्वरको पाठक बनूँ
गरी फड्का लामा तन र मनले साधक बनूँ
फलेका हाँगाको मुनि सँयलको स्वाद म लिऊँ
झरेको छाँगाको छङछङ सँगै प्यास म पिऊँ
रहेका छन् प्राणी जमिन भरमा बुझ्न म सकूँ
हिँडेका माग्नेको उदर भरिलो पार्न म सकूँ
हराएको आशा पहुँच सरिको बाँड्न म सकूँ
सदिच्छा गर्नेको हृदय खुसको दान म गरूँ
भए जाडो न्यानो नरम कपडा आँचल बनूँ
भए चर्को गर्मी सर सर हवा बन्न म सकूँ
बढे खोला नाला सहज बिचमा सेतु म बनूँ
परेको पानीमा झिमझिम भिजे ओत म बनूँ
बगेको खोला झैँ सललल गरी लक्ष्य म लिऊँ
सधैँ यो मायाले जमिन भरिको काख म दिऊँ
दिँदै शिक्षा दीक्षा असल बिरुवा रोप्न म सकूँ
भए रोगी धेरै मलजल गरि गोड्न म सकूँ
उकालोमा लौरो वन विकटमा साथ म बनूँ
खडेरीको पानी शिशिर ऋतुको घाम म बनूँ