-पुष्पाशायरा
हृदय गगनमा पुगेपछि
संवेदनाको
चोट
या खुसीको सूचना
बन्छ पानीको मेघ
एकाएक
र फाट्छ तरल मन
अनि वर्षन्छ
छचल्किएर
धुँदै नयन्
आँसु !
महासागर छ
हृदयमा
मन्थन गर्छ
ब्रह्मचेत्
देखिँदा उस्तै भए पनि
झर्छ आँसु
नुनिलो
पिरो
अमिलो
अमृतजस्तै गुलियो पनि
दुई नयन भएर
तप्प! तप्प !
विरहवियोग खपेर
झर्दै झर्दै गरेपछि
सुकेको छ महासागर
आँसुको
मन फाट्छ
तप्किनुभन्दा अघि
हुन्छ घुक्क घुक्क
बिलाउँछ आँखैमा
र दुख्छ बेजोड टाउको !
यस्तै हुन्छ होला
सबैको
चिदाकाश
जहाँ मन्थन हुन्छन् होला
अवस्थाहरू
र भिजाउँदै परेला
बहन्छन् होला प्रलयहरू
तरङ्ग लिएर
बनेर आँसु !
अझ भन्नै सक्दिन
आँसुको तौल
नबुझ्दा कति
जीवनलाई कति
र आँसुको अर्थ के ??