काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार बिहान २ः१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन् ।
बैठक सम्पन्न गरेर उनीअसार ८ गते स्वदेश फर्किने छन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् । प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला महानगरहरुका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामुहिक आवाजवुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो । प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए ।
सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्ने छ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन् । कार्यक्रम अन्तर्गत ‘मेयरल राउण्ड टेवल’शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीतिवहस’ मा प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन् ।
सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति वहस हुनेछ । नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तररराष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदानप्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जालनिर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ ।
बैठकले विश्व परिवेशका भिन्नभिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ । आइतबार मात्र महानगरको नगरसभाको १५ औँ अधिवेशनको दोस्रो बैठक स्थगित भए लगत्तै उनी ब्राजिल उडेका हुन् । एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा नै स्थगित हुन पुगेको हो । जनप्रतिनिधिले बहिष्कार गरेपछि आइतबारबाट सुरु भएको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको हो ।