इशु पन्त
विराटनगर । नाक, कान, घाँटी (ईएनटी) को रोग धेरैलाई हुन्छ । यसको समयमै उपचार नहुँदा सिर्जना हुने जटिलता पनि उतिकै छन् । तर, विराटनगरमा यससँग सम्बन्धि समस्या अझै धेरै रहेको चिकित्सकहरुको बुझाई छ । यसका कारणमा नियन्त्रण विहीन ध्वनी, धुँवा–धुलो र प्रदुषण हुन् ।
कोशी अस्पताल विराटनगरका ईएनटी चिकित्सक डा.रौनक दाहालका अनुसार विराटनगरमा नाक कान घाँटीसँग सम्बन्धित समस्या मध्ये कान पाक्ने, कानको जालीमा प्वाल हुने, नाकको पिनास, टन्सिललाइटिस, एलर्जी राइनाइटिस धेरै रहेका छन् । डाक्टर दाहालका अनुसार परीक्षण गराउने आउने मध्ये विराटनगरवासीमा कानसँग सम्बन्धित बढी समस्या देखिने गरेका छन् ।
बिरामी छन् तर उपचारका लागि पर्याप्त विशेषज्ञ नहुँदा कतिपय सम्पर्कमा पुग्दैनन् । उनले अन्य रोगजस्तो कान पाक्ने, घाँटी दुख्ने, पिनास हुनेलाई सामान्य मान्ने गरेकाले यो रोगका बिरामीको संख्या बर्सेनि बढ्दो क्रममा छ । ईएनटी रोगका बिरामीका बारेमा अध्ययन तथा अनुसन्धान हुने गरेको छैन । जसले निम्त्याउने जटिलताका बारेमा अझै सबै बाहिर आएको छैन ।
डाक्टर दाहालले आजसम्म ईएनटी रोगसँग सम्बन्धित शिविर आयोजना नै नगर्ने गरिएको बताए । उनले स्थानीय सरकारले आफ्ना नागरिकको नाक, कान र घाँटीसँग सम्बन्धित समस्याको स्वास्थ्य जाँच गराए धेरैमा बहिरोपनको समस्या देखिने बताए । कान नसुन्ने बिरामीहरुलाई सरकारले निःशुल्क कान सुन्ने यन्त्र दिँदा उसको दैनिकी सहज हुने डाक्टर दाहालको भनाई छ ।
विराटनगरको जीवनशैलीका कारणले गर्दा पनि नाक कान घाँटीलाई असर पारिरहेको छ । भित्री मधेश–गाउँ तिर चुलोमा खाना पकाउने भएकाले धुवाँले असर पुर्याउँछ। हावा प्रदुषणले धुलोधुँवा पनि बढिरहेको कारण एलर्जीले रुँघाखोकी लाग्ने र घाँटी खसखसाऊने हुन्छ। बढी अमिलो, पिरो र चिल्लो खाँदा ग्यास्ट्रिकले घाँटीमा केही अड्किए जस्तो हुने, घाँटी पोल्ने खाना खान अफ्ठयारो हुने वा पोल्ने हुन्छ। शिक्षक, पसले, गायक, मार्केटिङ गर्ने, व्यापरी र अन्य बढी आवाज प्रयोग हुने पेशाले गर्दा पनि आवाज नलीमा मासु पलाउने आवाज भासिने र घाँटी दुख्ने उनको भनाई छ। जीवनशैली बढी केन्द्रित भएर ध्यान पुर्याए यस्तो समस्या निर्मूल हुने बताउँछन्। बर्षा याममा चिसोले कान ओसिलो भई ढुसी पलाउने हुँदा कान सुख्खा राख्न साथै बालबालिकालाई कानमा तेल हाल्ने प्रचलन चली आएको छ। तर कान पाक्ने र ढुसी पलाउने भएकाले कानमा तेल हाल्ने काम गलत हुने डाक्टर दाहाल बताउँछन् ।
ठुला-ठुला आवाजमा गाना सुन्न नहुने, कान नखोटियाउने, कानमा पानी नपार्ने, तेल नहाल्ने गर्दा कानको समस्याबाट बच्न सकिने दाहाल बताउँछन्। अमिलो, चिसो, पिरो कम गर्ने, धुलो–धुवाँबाट बाँच्ने र धेरै बोल्ने वा ठूलो स्वरमा नबोल्ने गर्दा घाँटी र नाकको रोगबाट जोगिन सकिन्छ। नाक,कान घाँटीको स्वास्थ्य राम्रो राख्न यस्तो सुझाव दाहालले दिएका छन् ।
कोभिड १९ र मौसमी एलर्जिमा हुने भाइरल ज्वरोमा फरक लक्षण हुन्छ। कोभिडमा श्वासप्रश्वासमा अफ्ठ्यारो हुने, लामो समयसम्म ज्वरो आऊने, गन्ध र स्वाद हराउने हुन्छ भने सामान्य ज्वरो वा भाइरल ज्वरो केही समय अवधिको लागि मात्र ज्वरो आउँछ , श्वासप्रश्वासमा समस्या नहुने, गन्ध र स्वाद हराउने हुँदैन। कोभिड हुँदा बिस्तारै बिस्तारै गाह्रो हुँदै जान्छ भने सामान्य ज्वरो वा भाइरल ज्वरोमा उस्ताउस्तै अवस्था हुने बताइन्छ ।