काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको बताएका छन् ।
शुक्रबार महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको भन्दै यस्तो अवस्थामा आफ्नो पार्टीको खोजी भइरहेको बताए ।
उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको छ । यस्तो बेला हाम्रो पार्टीको माग छ । अहिले कुनैपनि पार्टी एक्लै जानसक्ने अवस्थामा छैनन् । या त एउटा कित्तामा उभिनुपर्छ, या त अर्कोमा उभिनुपर्ने वाध्यता छ । यसबेला सहयोगीहरुको आवश्यता परिरहेको छ । त्यस अर्थमा त्यसमा हाम्रो भूमिका छुट्टै छ ।’
उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्र्दै त्यसले प्रदेशमा पार्ने प्रभावबाट कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउनु आवश्यक रहेको औंल्याए । नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल र परामर्श गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । नेपालले भने, ‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ । यस अर्थमा हामीले कसरी अघि बढ्ने हो, यसबारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्ने छ । नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ । कुन ढंगले अघि बढ्ने हो, कस्तो नीति लिने, कस्तो आकार ग्रहण गर्ने, पुरानो सरकार कहिले बिदा हुन्छ, यी सबै कुरा यत्तिकै निष्कर्षमा पुग्दैनन् । यसमा हाम्रो सहभागिता र भूमिका हुने भएकाले यसमा एकजुट भएर अघि बढ्नुपर्ने अवस्था छ ।’