काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संविधानले विश्वासको मत लिन एक महिनाको समय दिएपनि नैतिकताको आधारमा प्रचण्डले प्रधानमन्त्रीको पद छाड्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कानूनी कुराहरु संविधानमा लेखिएको हुन्छ । नैतिक कुरा संविधानमा लेखिएको हुँदैन । यद्धपी संविधानलाई उहाँले समय दिएको छ । विश्वासको मत लिन्छु भन्ने अधिकार दिएको छ । तर नैतिक पक्ष त्यो होइन । अत्याधिक रुपले बहुमत गुमाईसकेपछि प्रधानमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुन्छ ।’लोकतन्त्र संविधान र कानून अनुसार मात्र नचल्ने उल्लेख गर्दै उनले नेताहरुले नैतिकता पनि देखाउन आवश्यक रहेको बताए ।