विराटनगर । अन्तर्राष्ट्रिय भर्चुअल व्याटल अफ द व्याण्डसको पहिलो संस्करणमा प्रथम भएकोमा विराटनगरको चर्चित सर्कल अफ फिप्तस व्याण्डलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बधाईसहित सम्मान गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरको प्रतिनिधित्व गर्दै प्रथम भएकोमा मेयर कोइरालाले सम्मान गर्नुभएको हो ।
पहिलोपटक भएको प्रतियोगितामा सर्कल अफ फिप्तस व्याण्डलाई महानगरको लोगो अंकित खादा लगाएर सम्मान गर्नुभयो । सो अवसरमा महानगरको लोगो समेत लगाइ दिनुभएको थियो । मेयर कोइरालाले विराटनगर औद्योगिक, राजनैतिक नगरीसँगै भाषा, साहित्य, कला, संस्कृतिको नगर पनि हो भन्ने रक व्याण्डको सफलताले पुष्टि गरेको उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बेलाबेला हुने चित्रकला, नृत्य, गीतसंगीत कवितालगायतका प्रतिस्पर्धामा विराटनगर उत्कृष्ट हुँदै आएको चर्चा गर्दै मेयर कोइरालाले विराटनगर हरेक क्षेत्रमा अब्बल हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा ७२ वटा व्याण्डको सहभागिता रहेको सर्कलका तर्फबाट सुशील केसीले जानकारी दिनुभयो । नेपालसहित विभिन्न देशका ७२ वटा व्याण्डलाई पछि पार्दै विराटनगरको सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्ड पहिलो भएको हो । ब्याण्डका तर्फबाट प्रयुष कोइराला, राहुल भट्टराई, रिदम रक रेग्मी, इन्द्रजित केडी, सुबोध उप्रेती, कविस भट्टराईले सहभागिता जनाएका थिए ।