विराटनगर । रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरमा एक महिलालाई पक्राउ गरेको छ ।
विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
चुँडालले अन्य व्यक्तिसँग मिलेर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको दाबी छ । प्रहरीले विराटनगर –११ नयाँ गुद्रीबजार स्थित फ्ल्याटबाट ६ जना महिलालाई उद्दार पनि गरेको छ । उद्दार गरिएका महिलाहरु २१ देखि २३ वर्ष उमेर समूहका छन् । उनीहरु काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १÷१ जना र झापाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । ती महिलालाई होटलमा जागिर दिने भन्दै विराटनगर ल्याएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार चुँडालको समूहले अवैध यौन व्यवसाय चलाइरहेका थिए । होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।