विराटनगरमा केटीको विषयमा विवाद हुँदा ‘ग्याङ फाइट’, चार जना पक्राउ

<span class='c1'>विराटनगरमा केटीको विषयमा विवाद हुँदा </span> <span class='c2'>‘ग्याङ फाइट’, चार जना पक्राउ</span>

विराटनगर । विराटनगरमा केटीको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच ‘ग्याङ फाइट’ भएर एक जनाको हत्या भएको खुलेको छ।

केटीको विषयलाई लिएर अघिल्लो दिन दुई पक्षबीच विवाद र भोलिपल्ट ‘ग्याङ फाइट’ हुँदा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

विराटनगर–२ स्थित नेपाल टेलिकमनजिक सेन्ट जोसेफ मोडमा सोमबार राति १० बजेतिर दुई पक्षबीच ‘ग्याङ फाइट’ भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका कामतको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । करणको छात्ती र कम्मरको भागमा धारिलो हतियारले घोपेको चोट थियो । घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत मध्ये रायको अवस्था गम्भीर र मण्डलको मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनालाई घाइते अवस्थामा फेला पारेर बाटोमा हिँड्दै गरेकाहरुले उपचारका लागि कोशी अस्पताल लगेका थिए । उक्त घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि सोधपुछ भइरहेको र थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार घटनाको अनुसन्धानकै क्रममा युवकको हत्या हुनुको कारण ‘ग्याङ फाइट’ भएको खुलेको हो ।

बस्नेतले घटनामा संलग्न विराटनगर–११ घर भई विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भइ विराटनगर–२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालकलाई पक्राउ गरिएको बताए । ‘ग्याङ फाइट’का क्रममा घटनामा संलग्नमध्ये शेर्पाले मृतक र घाइतेलाई कैंचीले जथाभावी प्रहार गरेको थाहा भएको उनको भनाई छ ।

उनका अनुसार घटनामा प्रयोग गरिएको कैंची विराट नर्सिङ होमअगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको छ । शेर्पा र पुरी नर्सिङ होमअगाडिको फार्मेसी (औषधि पसल)मा काम गर्थे । घटनामा संलग्नलाई उनीहरु बस्दै आएको स्थानबाट मंगलबार बिहान पक्राउ गरिएको बस्नेतले बताए । प्रहरीका अनुसार केटीको विषयलाई लिएर दुई पक्षबीच गत आइतबार साँझ घटनास्थलनजिक विवाद भएको पाइएको छ । मृतक र घाइते पक्षका युवाहरुले पीडक पक्षका केटीलाई जिस्क्याएको विषयमा भएको विवादले भोलिपल्ट ‘ग्याङ फाइट’ र हत्याको रूप लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार विवादपछि रिसईबी साँधेर बसेको मृतक र घाइते पक्षका १२/१३ जनाको समूहले भोलिपल्ट बाटो ढुकेर पीडक पक्षका युवाहरुलाई सुरुमा आक्रमण गरेको पाइयो । पीडक पक्षका युवाहरुले पनि काम सकेर घुम्न निस्किएका बेला आफूहरुमाथि बाटो ढुकेर बसेको समूहले सुरुमा आक्रमण गरेको प्रहरीलाई बताएका छन् ।

‘आक्रमण हुन थालेपछि प्रतिकार गर्दा ज्यानै जानेसम्मको दुःखद् घटना भएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘केटीको विवादलाई लिएर दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा मानवीय क्षति भयो पाइयो ।’ ‘ग्याङ फाइट’का क्रममा दोहोरो हानाहान हुँदा पक्राउ पर्नेमध्ये शेर्पाले साथमा बोकेको कैंची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एउटा मोबाइल फेला परेको र त्यही मोबाइलका आधारमा घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान सुरु गरिएको र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको डीएसपी बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्