इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाई व्यवस्थापनमा सरकारी कार्यालयहरूको सहभागिता बढाउने पहल सार्थक बन्दै गएको छ । महानगरपालिका क्षेत्रमा रहेका ४९ वटा सरकारी कार्यालयहरूले सरसफाई सदस्यता कार्ड लिएर फोहोर व्यवस्थापनमा संस्थागत सहभागिता जनाएका हुन् ।
प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र क्वार्टरसहित अन्य सबै मन्त्रालयले फोहोर व्यवस्थापनका लागि सरसफाई कार्ड लिएका छन् । विराटनगरका कतिपय वडाले अनिवार्य रुपमा सरसफाई कार्ड बनाउन सूचना जारी गरेका छन् । तर, जिल्ला प्रशासन कार्यालय, मोरङ, जिल्ला प्रहरी कार्यालय मातहत विराटनगरका कुनैपनि कार्यालयले सरसफाई सदस्यता कार्ड लिएको तथ्यांक महानगरपालिकासँग छैन । यसैगरी मोरङ जिल्ला अदालत, उच्च अदालत समेत अहिलेसम्म सरसफाई कार्ड नलिने कार्यालयमा पर्दछन् । तर, यी दुवै कानुनी अड्डाले आफैं फोहोर व्यवस्थापन गर्दै आएको जानकारी दिदैं अब महानगरपालिकासँग सरसफाई कार्ड लिने दावी गरेका छन् ।
महानगरपालिका सरसफाई प्रमुख पुनम दाहालले सबै सरकारी कार्यालयले कार्ड लिएर फोहोर व्यवस्थापन गर्न मात्रै थालेपनि त्यसको सन्देश आम नगरवासीमा सकारात्मक जाने बताएका छन् । उनले अझै केहि कार्यालयहरु कार्ड लिएर सदस्यता हुन बाँकी रहेको बताए ।
महानगरपालिकाले सरसफाई शुल्क मासिक १५० देखि पन्ध्र हजारसम्म लिने गरेको जनाएको छ । शहरी सरसफाई सुधार गर्ने लक्ष्य अनुसार सबैले सहयोग गर्नुपर्ने दाहालको भनाई छ । उनले कार्यालयहरुमा उत्पादन भएको फोहोर व्यवस्थापन, बिसर्जन गर्दा त्यसको प्रभाव सकारात्मक रहेको कुरा बुझ्न अनुरोध गरेका छन् ।
हालसम्ममा नेपाल बिमा प्राधिकरण प्रदेश कार्यालय, मुख्यमन्त्रीको क्यावर्टर, कोशी तथा बक्रा नदि व्यवस्थापन आयोजना, स्वास्थ्य निर्देशनालय धनकुटा (क्वाटर), जिल्ला आयुर्वेदिक सेवा केन्द्र, प्रधानमन्त्री कृषि आधुनिक परियोजना, आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेश, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, डिभिजन वन कार्यालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय (क्वाटर), घरेलु तथा साना उद्योग, निक्षेप तथा सुरक्षा कोष, आर्थिक मामिला तथा योजना मन्त्रालय क्वाटर, प्रदेश प्रमुखको कार्यालय, श्रम तथा रोजगार कार्यालय कोशी प्रदेश, तथ्यांक कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण,संघीय खानेपानी तथा ढल व्यवस्थापन, कृषि विकास निर्देशनालय, गोर्खापत्र सस्थान, कोशी प्रदेश सभा भवन, नेपाल राष्ट्र बैंक, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सडक डिभिजन कार्यालय, हुलाक निर्देशनालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास तथा भवन निर्माण कार्यालय, संघीय योजना कार्यन्वयन इकाई विराटनगर, सामाजिक विकास मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, आदर्श विद्यालय, प्रदेश खेलकुद विकास बोर्ड, जलश्रोत तथा सिंचाई विकास डिभिजन, नेपाल टेलिकम, सत्यनारायण मा.वि, कर्मचारी संचयकोष, कृषि मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पशुपंक्षी उपचार केन्द्र, खानेपानी तथा उर्जा मन्त्रालय, भौतिक विकास तथा पूर्वाधार मन्त्रालय, कृषि ज्ञान केन्द्र मोरङ, प्रदेश योजना आयोग लगायत सरकारी कार्यालय रहेका छन् । त्यसैगरी गैरसरकारी संस्था परिवर्तनशील समाजले समेत सदस्यता कार्ड लिइएको छ ।