विराटनगर । विराटनगर महानगरपालिकाका सडकहरुमा जडान गरिएको बिजुली बत्तीहरुको दुर्दशा देखिएको छ । यति चाँडै सडकका बत्ती निभ्न थालेपछि यो बजेट सिध्याउने मेसो मात्रै भएको देखिएको छ । विराटनगर–३ को वडा कार्यालय उत्तर सुरुमा बत्ती जडान गरेर सडकलाई सेल्फी रोड नामाकरण गरिएको थियो । यो सेल्फी रोडका बत्ती अहिले निभेका छन् । यस्तै सडक सौन्दर्यकरणको नाममा विराटनगरको एयरपोर्ट रोडमा समेत फलामको संरचनामा बत्ती जडान गरेर साँझ परेपछि झिलिमिलि बनाइएको थियो ।
छानोमा बत्ती बालेपनि एयरपोर्ट रोड वर्षात्मा डुबेर समुन्द्र जस्तो हुन्छ । पानीको निकास नहुँदा एयरपोर्ट रोड पानी पर्ने बित्तीकै जलमग्न हुन्छ । विराटनगरमा पहिलो सेल्फी रोड भनेर ३ नम्बर वडामा बत्ती जडान गरिएको थियो । यसको प्रचारप्रसार पनि सेल्फी रोडको हिसाबले भएको थियो । त्यसपछि धेरैवटा रोडहरुमा यस्तै प्रकृतिको बत्ती जडान गरियो । तर, बिग्रपछि बनाउने पैसा नहुँदा बत्ती निभ्न थालेका छन् ।
सुरुवाती दिनहरूमा यी सजावटी बत्तीहरूले निकै ध्यान खिचे र स्थानीयवासी तथा पर्यटकहरू फोटो खिच्न आउँथे । तर, यो आकर्षण लामो समय टिक्न सकेन। जडान गरेका धेरैजसो बत्तीहरू बिग्रिएर बन्द अवस्थामा पुगे। अहिले धेरै सडकहरूमा रातको समयमा आवश्यक बत्ती समेत बल्दैन। जसका कारण केही क्षेत्रहरू सुनसान र रातको समयमा हिँड्न डरलाग्दो बनेका छन् । सेल्फी रोड नै यसको उदाहरण हो जहाँ एक समय सेल्फी खिच्न भीड लाग्थ्यो । अहिले त्यो सडक अँध्यारो र सुनसान छ। यस सडकमा हिड्न रातको समयमा सुरक्षित पनि नहुने स्थानिय बताउँछन् । सेल्फि खिच्न आउनेको भिड उक्त स्थानमा चहलपहल बढेको थियो ।
विराटनगर महानगरपालिका ४ मा पर्ने एयरपोर्ट रोडको बत्ती त चोरीको बिजुली प्रयोग गरेर बाल्ने गरिएको खुलेको छ । महानगरपालिकाले विद्युत बक्यौता बुझाएको छैन । झण्डै १२ करोड आसपास बक्यौता बुझाउन बाँकी रहेका कारण विद्युत र महानगरपालिकाको दोहोरी चलिरहेको छ । त्यहि भएर बत्ती नहुँदा सेल्फी रोडको रुपमा झिलिमिझि बाल्न करेन्ट नै छैन । विराटनगर ४ का वडा अध्यक्ष जीतन थापाले कहिले काहीं आकलझकुल बाहेक बत्ती बल्न छोडेको बताए । उनले विद्युत आपूर्तिका कारण यो समस्या आएको दाबी गरेका छन् ।