कथा : विच्छेद

<span class='c1'>कथा :</span> <span class='c2'>विच्छेद</span>

- निर्मला देवी तिम्सिना 'कान्छी'

एकापट्टी अनन्त समुद्रका छालहरू उर्लिएका थिए भने अर्को पट्टि चिल्लो सडकमा चिल्ला गाडीहरू दौडी रहेका थिए । बिचमा रहेको मनोहर बगैंचामा हामी बसिरहेका थियौँ । जताततै विभिन्न जातका फूलहरू हाँसी रहेका थिए । फूल सभ्य भएर हाँसेका थिए भने हामी हरियाली चौरमा असभ्य भएर हाँसिरहेका थियौँ । महिनामा एउटा आईतबार छुट्टी हुन्थ्यो । त्यो दिन दसैं आए जस्तै महसुस हुन्थ्यो । सबै साथीहरुसँग बसेर नेपाली खाना खाँदा अपार रमाइलो हुन्थ्यो । त्यसैले त दसैं आए जस्तै महसुस हुन्थ्यो ।

अत्यन्त मिल्ने साथी यारीको जेठ छब्बीस गते जन्म दिन थियो । सबै साथीहरु मिलेर केही उपहार र केक किनेर लगेका थियौं । परदेशमा उमेर जतिसुकै भए पनि जन्म दिन मनाउन साह्रै रमाइलो लाग्दो रहेछ। साइप्रसको एउटा सुन्दर शहर लिमासोलको मोलसमा जन्मदिन मनाउने अवसरमा सबैले छुट्टी मिलाएका थियौं तर यारीलाई भनेका थिएनौँ। उनको लागि आश्चर्य जनक जन्मदिन थियो । सबै जना जम्मा भयौँ । हाम्रो तेह्र जनाको समूह थियो । दायाँ पट्टी छ जना बायाँ पट्टि छ जना बसेर गोलाकार बीचमा यारीलाई बसाल्यौं। कसैले उपहार निकल्यौं त कसैले केक । यो सबै देख्ने बितिकै यारीले आँखाभरी आँसु पार्दै केक नकाट्न अनुरोध गरिन् र उपहार पनि अस्वीकार गरिन् । उनलाई आश्चर्य पार्न भेला भएका हामी पो आश्चर्यमा पर्यौं। सबै साथीहरुले मुखा मुख गर्यौँ र एकाएक सबैले कारण सोध्यौँ। मूलको पानी निस्किए झैं उनको आँखाबाट आँसु भुलुलु निस्किँदै ओरालो लागेर सललल बग्न थाल्यो र छाती हान्दै भुइँमा छताछुल्ल पोखियो । हामी झन् चकित पर्यौं ।

उनीभित्र दर्द भएको कुरा उनका एकाएक सुक्दै गएका ओठ ,बगेका नयन र मलिनो मुहारले बताएको थियो । " मान्छेमा भएका आधा भन्दा धेरै गुण या दोष अनुहारले दर्साउँछ " सबैले एकैसाथ खुसी रहन अनुरोध गर्यौँ। कसैले जिस्कायौं,कसैले उत्ताउला गीत गायौँ त कोही बेताल नाच्यौं । उनी आँसु पुछ्दै रुन्छे हाँसो हाँसिन्। हामीले बढो जिद्दी गर्यौँ र फेरि पनि कारण सोध्यौँ। उनी भावुक हुँदै बडो कष्टका साथ भन्न लागिन् - कुरा सोह्र वर्ष अगाडिको हो । म तेह्र वर्ष पूरा पुगेर चौध टेकेको दिन थियो । बिहान सबेरै उठेर आमा , भाइ र म मन्दिर गयौँ । बाबा हामी भन्दा छुट्टै बस्नु हुन्थ्यो । केही समय अगाडि कोठाको समान भाग बन्डा गरेर बाबा र हामी छुट्टै बसेका थियौँ। आमालाई पसल र बाबालाई अफिस टाढा भयो भन्ने बहाना थियो । " प्रेमले आपसमा समीप खोज्दाे रहेछ र घृणाले दूरी खोज्दो रहेछ । आफ्नो आफ्नो पाईक पारिएको बसाइ थियो । "हामी तीन जना सँगै थियौँ र हामी मात्रै मन्दिर गयौं। अगाडिको जन्मोत्सवमा बाबाकै साधन चढेर गए पनि त्यो पाली बाबा बिना हामी हिँडेर नै गएका थियौँ।

बाबाले मेरो जन्मदिन बिर्सनु भएछ क्यारे ।अबेर सम्म फोनको बाटो हेरेँ । बाबाले फोन नगरेपछि आमालाई सोधेँ - "आमा आज बाबाले किन कल गर्नु भएन ! "आमाले पिलिक्क हेर्दै भन्नु भयो" बिर्सनु भयो होला नि !आफैँ फोन गर्न । कामको चापले बिर्सन सकिन्छ ।" भनेपछि मैले आफैंले फोन गरेकी थिएँ । बा हाँस्दै - " बिर्सेछु नानी क्षमा देऊ । म बेलुका आउँछु है । "भन्नु भयो त्यसपछि म खुसी भएकी थिएँ। आमाले त्यो दिन पहिलाको जस्तो आफन्तलाई नबोलाउने र केक मात्रै काट्ने भन्नु भयो । मैले मानिनँ । आमाले खर्चको अभाव छ भन्नु भयो । हुन पनि हो पहिला जस्तो मिठो खाना हाम्रो चुल्होमा कमै पाक्न थालेको थियो । ठूला भएपछि रहर त्याग्न आफैँ जानिदो रहेछ तर सानोमा रहर त्याग्न निक्कै मुश्किल पर्ने ।आमाको गाली खाएपछि मात्रै केही रहर लत्रिन सक्ने भएका थिए। भन्छन् कताको जुम्रो टुप्पीमा पुग्यो भने बढी चलमल गर्छ रे तर टुपिको जुम्रो कता पुगे के हुन्छ भनिएको छैन ।माथिको दर्जाबाट तल्लो दर्जामा पुग्दा निक्कै उकुसमुकुस हुँदो रहेछ। तल्लो दर्जा निर्धारण हुनुको कारण बाबा र आमा छुट्टिएर बस्नु थियो । आमा एक्लैले हामी तीन जना पालिनु पर्ने ,कोठा भाडा तिर्नु पर्ने र स्कूलको फीस तिर्नु पर्ने भएकोले धेरै गाह्रो भएको थियो। बाले पैसा दिन छोड्नु भएको निक्कै समय भएको थियो । हामी त्यही उकुसमुकुसमा रुमली रहेका थियौँ। आमाले धन्न भोकै राख्नु भएको थिएन। कसरी जन्मोत्सव मनाउन सकिन्थ्यो र ! म चुपचाप बसेँ।

पैसा दिनु त परै जावोस हामीलाई भेट्न पनि बा लगभग आउनै छोड्नु भएको थियो । न्यास्रो मर्ने गरी लाग्थ्यो । " नजिक नभएकै चिजको महत्व बढी हुँदो रहेछ। "भाइ त सपनामै बाबा भन्दै कति रात जुरुक्क उठेको थियो र नदेखेपछि निक्कै रोएको थियो। बाबा निष्ठुरी नै हुनु भएको हो त ? कि व्यस्तताले यस्तो बनायो ? हामीलाई एकै छिन् नदेख्दा आतिने बाबालाई के भएको होला ! सानोमा बाको हातले खाना खाएको,बाले लगाइ दिएको कपडा ,बाको काँध चडेर स्कूल गएको ,बाबाकै साधनमा चडेर घुम्न गएको र बेलुका आएर बाको काखमा निदाएको हामीलाई त्यो बेला झझल्को मात्र भएको थियो । " कहिले काँही विपना पनि सपना जस्तै हुँदो रहेछ ।" आमालाई पनि कति पटक मरणासन्न पारेर पिट्नु हुन्थ्यो । बेहोस भएकी आमालाई पानी छ्याप्दै बिउँझाएको पटक पटक देखेकी थिएँ र पनि आमाले बालाई फोन गर भन्न छोड्नु भएको थिएन । सायद हामी माथिको पितृत्व नखोसिवस् भनेर होला । सम्बन्ध पनि पुरानो कपडा जस्तो च्यतिदै जाँदो रहेछ । जति टालटुल गरे पनि मजबुद नहुने ।

आमा पहिला जस्तो फुर्तिलो हुनुहुन्नथ्यो ।धेरै बिर्सने र उसै रुने हुनु भएको थियो । प्राय: राती धेरै रुनु हुन्थ्यो । मैले धेरै पटक थाहा पाएकी थिएँ। बिहान अनुहार सुनिएको हुन्थ्यो । त्यही सुनिएको अनुहार लिएर काममा जानु हुन्थ्यो ।आमाको शरीरले आराम र बाध्यताले पैसा मागेको थियो ।एक्लै रुनुहुन्थ्यो । सायद रुन पनि एकान्त चाहिन्छ क्यारे सुनसान रातलाई सुँक्क सुँक्क रुवाईले छर्लङ्ग उज्यालो बनाएको जस्तो लाग्थ्यो । मेरो तेह्रौं जन्मोत्सव सम्म हामी सबै सँगै थियौँ। खुब धुमधाम मनाउने गरिएको थियो। तर यो पाली बाबाको बाटो हेर्दा हेर्दै रातको दस बजी सकेको थियो। खाना सामान्य थियो ।केक पनि पग्लिन थालेको थियो । एउटा फ्रिज पनि थिएन । रित्तो कोठा जहाँ एउटा खाट र सामान्य थाल भाँडा दिएर प्राय समान बाबाले नै राख्नु भएको थियो। त्यो कोठामा आएको दिन खाना खाने चामल सम्म थिएन ।भोलि पल्ट खै आमाले कसरी जुटाउनु भयो । मैले नै भनेँ - "आमा ! अब बाबा आउनु हुन्न केक पग्लिन लाग्यो काटौँ, अनि खाएर सुतौँ ।" भन्दा भन्दै ढोकामा ढकढक आवाज आयो । म भन्दा भाइ छिटो दौडेर ढोका खोल्यो ।बाबा आउनु भएछ ।

सबै भन्दा खुसी भाइ नै भएको थियो ।किनकि ऊ बाबाको न्यास्रोले सिकिस्त थियो। जुन अपेक्षा थियो त्यसको भयानक विपरीत भयो । न हामीलाई बाबाले अङ्गालोमा कस्नु भयो न केक नै काटियो । सरासर बाबाले एउटा पत्र आमाको अगाडी राखेर हस्ताक्षर गर्न भन्नु भयो ।आमाले केक काटौं अनि खाना खाएपछि गर्छु भन्नु भयो तर बाबाले म यहाँ खाना खान आएको हैन यसमा हस्ताक्षर गराउन आएको हो भन्नु भयो । आमा भन्दै हुनुहुन्थ्यो छोरा छोरीको लागि त बसी दिनुु तर बाबा मान्नु भएन । " यत्रो महत्वपूर्ण के को पत्र हो आमा ! " मैले आमालाई सोधेँ। आमाले " सुन्छेस् " भन्नु भयो ।मैले हो को भावमा मुन्टो हल्लाएँ। आमाले भन्नु भयो " पारपाचुके ( डिभोर्स ) । तेरो बाउ हामी देखि छुट्टिन चाहन्छन् । तँ नै भन म के गरौँ? " आमा थचक्क बसेर रून थाल्नु भयो । यो सुनेर हामी नरूने कुरै भएन। यदि सम्बन्ध तोड्नु नै थियो भने जोड्नु किन पर्थ्यो ! त्यसमाथि बाबाले हामीसँग पनि नभेट्ने कुरा गरिसक्नु भएको थियो। यत्रो परिवर्तन सामान्य घर झगडाले ल्याउँछ र! समझदारी किन हुन सकेन।? हामीलाई सम्म त्याग्न सक्ने परिवर्तन कसले ल्यायोे? जन्म दिएपछि कर्तव्यबाट किन टाढिन खोज्नु भयो ? हाम्रो ममताले किन छाती पोलेन ? हाम्रो भोक प्यासले कसरी आनन्द दिन्छ होला ? बाबाको ढिटको अगाडि हाम्रो अनुरोध र आँसुको कुनै मूल्य रहेन । समझदारी हुन आफ्नै मनबाट सकारात्मक सोच आउनु पर्दो रहेछ । मुर्खलाई सकारात्मक सोचको ज्ञान दिएर सम्झायो भने ऊ विद्वान हुन सक्ला तर विद्वानको मस्थितिमा मूर्खता आयो भने कसैले परिवर्तन गर्न सक्दैन । आफ्नो मन परिवर्तन भएन भने भगवनको पनि केही चल्दैन । बाबाको मन हामीतिर कर्तव्यले तान्न सकेनौं। कर्तव्यबाट भाग्ने मान्छे बहादुर हैन कायर हो ।

त्यसैले आमालाई हस्ताक्षर गरिदिनु भनेँ ।आमाले निक्कै बेरमा हस्ताक्षर गरिदिनु भयो ।बाबा कागज पत्र लिएर निस्किनु भयो मैले केक रद्दिमा फालिदिएँ। आमाले पोते चुडाउनु भयो ,सिन्दुर पखाल्नु भयो । अब तिमीहरू नै भन त आमा र बाबाको विच्छेद भएको दिन अनि हाम्रो पितृत्व मरेको दिन म कसरी जन्म दिन मनाउन सक्छु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्