विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमा नाकाहरुलाई लक्षित गरी लागु औषध दुर्व्यसन रहित समाजको परिकल्पनाका साथ दुर्व्यसनकर्ताहरुलाई निरुत्साहित गर्ने उद्देश्यले दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सुरु गरेको छ ।
प्रदेश प्रहरीले विराटनगर १६ स्थित एक कार्यक्रमको आयोजना गरी
लागुऔषध दुर्व्यसन विरुद्ध आमाहरुको अभियान सुरु गरेको हो ।
लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गरी स्वस्थ, सुखी परिवार र समुन्नत समाज निर्माण गर्नको लागि "दुर्व्यसन विरुद्ध आमाहरु" कार्यक्रम कोशी प्रदेशमा अभियानकै रुपमा संचालन गरिएको कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले बताउनुभयो ।
खापुङले बालबालिकाहरुसंग बढी समय आमाहरुले बिताउने हुँदा उनीहरुको बानी व्यहोरामा आएको परिवर्तन सहजै आमाहरुले महसुस गर्ने भएकोले आमा समुहलाई अगुवा बनाएर कार्यक्रम संचालनमा ल्याइएको बताउनुभयो । उहाँले व्यक्तिगत तथा पारिवारिक समस्या, अपहेलना र साथीभाईको लहलहैमा लागेर युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेकोले यस्तो अवस्था आउन नदिन आमाहरु नै जागरुक हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नागेश कोईरालाले नेपाल प्रहरीले लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रण गरी युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन संचालनमा ल्याएको "दुर्व्यसन विरुद्ध आमाहरु" कार्यक्रम स्वागतयोग्य रहेको बताउदै यस्ता कार्यक्रममा महानगरको सदैव साथ र सहयोग रहने बताउनु भयो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले लागुऔषधको प्रयोगले व्यक्तिगत जीवन, परिवार र समाजलाई असर पुर्याउनुका साथै अपराधका घटनाहरु समेत बढाउने भएकोले यसलाई नियन्त्रण गर्न गत चैत्र १४ गते "दुर्व्यसन विरुद्ध आमाहरु" कार्यक्रमको शुभारम्भ गरी कोशी प्रदेश अन्तर्गत रहेका पालिका र वडा स्तर सम्म कार्य समिति गठन गरी कार्यक्रम संचालन गरिरहेकोमा उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सिमा नाकालाई लक्षित गरी यो कार्यक्रम संचालन गरेको बताउनु भयो ।
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, विराटनगर महानगरपालिका १५ का वडा अध्यक्ष प्रकाश साह र महिला अधिकारकर्मी सामाजिक अभियन्ता सदिना खातुनले कोशी प्रदेश प्रहरीले ल्याएको कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गरे ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, सामुदायिक सेवा केन्द्र रानीका पदाधिकारी, नागरिक समाज, आमा समुह, संघसंस्थाका प्रतिनिधिहरु, जेष्ठ नागरिक, संचारकर्मी, महिला सञ्जाल, युवा समुह, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।