-राजन प्रसाद न्यौपाने "श्रीयम"
संस्थापक नोबेल साकोस साहित्य संस्था काठमाडौं
जीवनको क्षितिजबाट
अझै माथि हेर्ने मन छ
विवशता र बाध्यतालाई नियालेर
रजो र तमो प्रवृत्तिका मान्छेको
उचाई कति सम्!म हुँदो रहेछ भनेर।
थाहा पाउने रहर छ
इच्छा र आकांक्षालाई
धरौटीमा राखेर
गहिरो सतहबाट मनको सफा दृष्टि कुदाएर ।
जीवनलाई वासनादार
फूलको वगैँचा बनाउने मन छ
सत्वगुण र सद्भावको
उज्यालो देखाएर
थाहा छैन
कहिले सम्म बलिरहने हो
जीवन समर्पणको बत्ती ?
अब चाहीँ
थाहा पाउने इच्छा
प्रवल बनेको छ
जीवन संघर्षबाट
चुनौतीका सफल सन्देश फिँजाएर ।
चीसो हिमालबाट अझै
माथि उक्लने आँट छ
चुक्लि , चाप्लुसी र डाहाका
काँडाघारी फाँडेर
स्वच्छन्द पहाडका डाँडाभरी
मखमली र गोदावरी रोप्ने रहर छ
गुलाफ काँडा वीचमै फूल्छ भन्न नपर्नेगरी
ऐंसेलु र घंघारु टिप्ने अभिलाषा छ
अध्याराहरु छिचोल्दै
कलंकित वस्तीका पापीहरूलाई सिध्याउन
चेतनाको उज्यालो दियो सल्काएर ।
पहिरो गएको पहाड सम्याएर
पापीहरुको मनोबल गिराउन
सत्गुणीहरूको वस्ती बसाउने इच्छा छ
पाप र अधर्मको महामारी
जति फैलियोस
हिम्मतका अद्भुत पाखुराले
सुरक्षा कवच पहिरिने शक्ती छ।
प्रभावमा पारेर पाप गरेका
योजना बनाएरै अरुलाई लुटेकाहरुले
निस्वार्थ निश्चल साथ देखेपछि
आफ्नो लाज बचाउन
आफ्नै बस्तिमा गरेको कुकर्मबाट बच्न
बिनाकारण ,निहित स्वार्थले
अरुलाई नाङ्गो पार्न खोज्नेहरूको कथा
समयको कठ्घरामा उभ्याएर बताउन हतार छ ।
समाजमा दुष्प्रभाव छाड्ने भाइरसहरूलाई भ्याक्सीन दिलाउने मन छ
हृदयको विशाल पबित्र वगैँचाबाट
अधर्मीसँग बदला होइन,
पापका किटाणु मार्ने
विषादी उत्पादन गर्नु छ
ताकि मानव इतिहासमा
कहिल्यै झुठ र पापको
कोरोना र ईबोला
नफैलियोस भनेर
अब,
सत्वगुणी समाज निर्माणको
नेतृत्व गर्नुछ
पाप विरुद्ध धर्मको विजयको
धैर्यताको संकल्प लिनुछ।