विराटनगर । मोरङमा २०६८\२०६९ समयकाल ठेक्का कब्जा गर्ने वा कर छली गर्ने ब्यापारीलाई धम्याउने समूह (ग्याङ) हरु बीच ठूला झडप हुन्थ्यो । एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति हावी हुँदा प्रहरीका कार्यालयदेखि अदालतका ढोकासम्ममा नाङ्गो भाला नाच्थ्यो । यतिसम्मकी ठेक्कामा आफ्नो वर्चश्व कायम गर्न विराटनगरका दुई समूह राजनीतिक छाता ओडेर सरकारी कार्यालयको मुख्य गेटमा उभिएका भेटिन्थे । उनीहरुका झोले कार्यालय परिसरका नाकामा उभिएर तरबार नचाएको दृश्य देखिन्थ्यो ।
अवस्था बदलियो, फेरिएको समयमा पुराना जति सबै अहिले शालिन भए । शालिन मात्रै नभई समाजसेवी कहलिए । उसबेलाका ग्याङ्ग नेतृत्वकर्तामध्ये पर्शुराम बस्नेत समाजसेवी बन्दै अहिले राजनीतिक व्यक्तित्व छन् । अर्का अभिषेक गिरी, कारागारबाट कैद भुक्तान गरेर छुटेपछि गिरी फाउण्डेशनका नाममा समाजसेवामा सक्रिय छन् । यतिसम्मकी राजनीतिमा अवसर लिने र नेताको विश्वासमा कहलिनेमा उनीहरु छानिएका छन् ।
त्यो अराजकता गुजारेको विराटनगरमा १२ वर्षपछि उस्तै प्रवृत्तिका ग्याङ्गहरु जन्मिदै गएको हो की, भन्ने अनुमान गरिएको छ । प्रहरीले अहिलेका ग्याङ्गहरु हुनेवाला समाजसेवीस्तरमा नपुग्ने आंकलन गरेको छ । यद्यपी कहाँ, कुन बेला र कसरी भिड्छन् भन्ने ध्यानमा राखेको छ । राजनीतिमा देखिएको अस्थिरतामा सुशासन कमजोर हुँदै जाँदा प्रहरीको सुरक्षा मनस्थिति समेत खुम्चिएको जस्तो आभास विराटनगरका पछिल्ला कतिपय घटनाले पुष्टि गरिरहेको छ । यहि बेला टोले दादाहरुको समूहले एकले अर्कोमाथि दवाव बढाउने अराजक अभ्यासलाई प्राथमिकता दिएको प्रहरीका कतिपयले सदस्यको बुझाई छ ।
यसको पहिलो रिहल्सल गत जेठ ७ गते विराटनगरमा भएको थियो । झण्डै १२ वर्षपछि राति विराटनगरमा ग्याङ फाइट चल्दा पहिलाकै झझल्को आएको थियो । एउटा समूहले विराटनगर–७ हाटखोलासम्म अर्को समूहलाई खेदाएको थियो । फरक झुण्डमा परेको यो भिडन्तमा संलग्नलाई प्रोत्साहन भने राजनीतिक रुपमा भयो । प्रोत्साहन हुँदा उनीहरुमाथिको कारवाही सामान्यीकरणमा सिद्धियो । तर, पेस्तोल नै देखाउनेसम्मका घटनामा संलग्नहरुलाई हातहतियार खजनाको मुद्दा समेत नचलाइनुले प्रहरी कमजोर मनस्थितिमा रहेको कतिपयले विश्लेषण गरेका छन् । त्यो घटनाका प्रत्यक्षदर्शीले खुकुरी तरवार, बन्दुक बोकेको देखेको बताएका थिए ।
त्यसबेला केहि व्यक्ति पक्राउ परेका थिए । त्यसपछि विराटनगर तीनपैनीमा अर्को घटना घट्यो । जहाँ कुनै व्यक्तिको घरमा ढुंगा हानियो । यो घटना त्यसै सामसुम भयो । अहिले बरगाछी ग्याङ्ग र पुष्पलालचौक ग्याङ्ग एक अर्कोमा भिड्ने मनस्थितिमा छन् । उनीहरुले एकलेअर्कोलाई ‘दागा’ धर्ने काम गरिरहेका छन् । पछिल्लो समय सरोचियाका एक युवालाई पुष्पलाल चौकको ग्याङ्गले आक्रमण गरेपछि त्यसको जवाफ दिने योजना बनिरहेको प्रहरीकै भित्री स्रोतको भनाई छ । यसैगरी अर्का एकजना गिरी थरका युवालाई समेत हातपात भएको घटना प्रहरीको नोटिसमा छ ।
विराटनगर–२ स्थित नेपाल टेलिकमनजिक सेन्ट जोसेफ मोडमा दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु समेत भएको थियो । यो घटनामा केटीको कारण थियो ।
मोरङ प्रहरीका उपरीक्षक नवराज कार्कीले कुनै व्यक्तिमा संरक्षित भएर वा राजनीतिक रुपमा ओत लागेर भन्दा पनि सामान्य व्यक्तिगत रिसईबीका झगडा गर्नेहरुको ठूलो चुनौती अहिले नै नदेखिएको बताए । यद्यपी मोरङमा त्यसमा पनि विराटनगर पेरीफेरीमा लामो समय फिल्डमा खटिएर ड्यूटी गर्ने प्रहरीहरुले भने कहिंकतै ग्याङ्गहरुले फाइटका लागि संगठित योजना बनाईरहेको सूचना संकलन भईरहेको बताएका छन् । ‘कुन समूहले कता, कसलाई आक्रमण गर्छन् भन्ने यकिन छैन’ उनले भने–हेर्दा सामान्य लागेपनि यसले संस्थागत हुने अवसर पाए पुरानै शैलीमा विराटनगर फर्कन सक्छ ।