-पुष्पा बोगटी
आकाशमा पर्खाल
लगाएपछि र अन्तिम
न आकाशको अन्तिम भेटियो!
न पर्खालको कुनै उदेश्यसम्मको यात्रा !
जीवनले माथी
चुचुरोसम्मको सपना देख्दा
न पर्खालहरू ठिङ्ग उभिए
न कोहि पर्खिनेहरू
वश बाँचिरहेछु यहीँ हृदयविदारक अनुभवहरूसँग !
उहिलेको एक समयले
खुब पिरोल्दा
निस्तै भातका सिताहरू
मात्रै ,निल्दै गर्दा
साच्चै बाँच्नका लागी मात्रै,
बाँचेकि रहेछु !
जसरी भोक मेट्नको
लागी निलेकि थिएँ ।
र अहिलेसम्म बाँच्नको लागी नै सबै भोगिरहेछु !!
जीवनका पहराहरूले
अन्योल गहिराइसम्म
गर्ल्याम पछारेपछि!
अचेत हुनुको स्वास पनि
बाँच्नको लागी फेरिदो रहेछ।
यसरी बाँच्दै गर्दा
मृत्युका कयौं सपनाहरू लस्कर लागेका छन् !
यहाँ आफू जीउँदै रहँदा
बिते सबै सबै पुर्खाहरू
रित्तियो सबै जिउदाहरूको स्वास , लागे आ- आफ्नो बाटो पितृहरू
जीवनले जिवित हुनेहरूलाई मात्रै ,
मार्ने होइन रहेछ !!
मर्नेहरूलाई पनि बौराउदो रहेछ ,
जसरी मन मरेको मुटुले पनि साहसको स्वास फेरिरहेछ !!
अब भएजति जम्मै
आपदरूलाई,
कष्टपुर्ण अभावहरूलाई
लेऊ समर्पण गर र लेऊ
दु:खद समयलाई आफ्नो साथ
र बुझ जीवनको सबै अर्थहरूलाई
बित्न देऊ सबै विगतहरूलाई
र बाँच , बाहादुर भएर !
यो बाँच्नेहरूको चतुर्याइँ चेत हो हजुर ,
विगतलाई बिर्सिएर बाँच्नु !!
सुनसरी बराहनगरपालिका-१