विराटनगर । विराटनगर १२ पञ्चमुखीचौकमा शुक्रबार राति सरोज भन्ने लाक्पा लामाले स्थानीय परिचित खतिवडामाथि अन्धाधुन्ध आक्रमण गरेका छन् ।
मादक पदार्थ पीएर मातमा फिटान भएका लामाले खतिवडालाई बोतलले अनुहारमा प्रहार गरेका हुन् ।
खतिवडा पसल बन्द गरेर घरमा बसिरहेका थिए । घरमै पसल रहेका कारण शुक्रबार त्यहाँ बर्थ डे मनाउने क्रम चलिरहेको थियो, घटनामा प्रत्यक्षदर्शीले भने-मातिसके पनि बियर समेत बोकेर आएका उनले त्यो पिइसकेर अर्को बोतल पनि त्यहाँ थपे, अब भयो घर जानू भनेको मात्रै के थियो हिर्काइहाले ।
खतिवडाको घरमा उनीसँगै छिमेकी र आफन्त पनि थिए । तर,लामाले हिर्काउने छनक पनि नदिइकन बोतल एक्कासि हान्दा अनुहारमा गम्भीर चोट लागेको छ । खतिवडालाई अहिले अस्पताल भर्ना गरिएको छ ।
बोतल हानेर भागेका लामाको साथबाट चक्कु झरेको दाबी छ । उनलाई विराटनगर वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले सरोज लामा भन्ने व्यक्ति नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताए । लामा विराटनगरका अन्य स्थानमा समेत लफडा गर्दै पञ्चमुखी चौक पुगेको खुलेको छ । खतिवडासँग कुनै रिसइबी नभएपनि टोले दादा कहलिन उनले हिर्काएको स्थानीय बताउँछन् ।