विराटनगर । कोशी प्रदेशको राजधानी भएर पनि ट्राफिक लाईट विहीन शहरमा पहिलो पटक ट्राफिक लाईट जडान भई संचालनमा आएको छ ।
विराटनगरको बरगाछी चौकमा रहेको ट्राफिक लाईट सोमबार उद्धघाटन गरी औपचारिक रुपमा संचालनमा आएको हो ।
ट्राफिक लाईटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लब अधिकारीले ट्राफिक लाईटको स्वीच अन गरी औपचारिक रुपमा ट्राफिक लाईट संचालनमा आएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले ४४ लाखको बजेटमा बरगाछी र उदयपुरको गाईघाटमा ट्राफिक लाईट जडान गरेको मन्त्रालयले जनाएको छ ।
दिनानुदिन बढ्दै गहिरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नको लागि र सवारी साधनको चापलाई व्यवस्थित ढंगबाट सहज ढंगले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाईटको आवश्यक महसुस गरी कोशी प्रदेशको राजधानी विराटनगरबाट प्रारम्भ गरिएको आन्तरीक मामिला तथा कानुन मन्त्री लिलाबल्लब अधिकारीले बताए ।
विराटनगर र उदयपुरको गाईघाटबाट पहिलो चरणमा सुरु गरे पनि आगामी दिनमा ट्राफिक लाईटसँगै जेब्रा क्रसिङको पनि अन्य शहरमा व्यवस्थापन गर्दै जाने अधिकारीले बताए । विराटनगरको बरगाछीमा ट्राफिक लाईट जडान गरेसँगै स्थानीय पैदल यात्रीहरु धेरै खुशी छन् । बरगाछी अत्यन्तै व्यास्त सडक भएका कारण अब ट्राफिक लाईट पछि आकाशे पुलको आवश्यक भएको स्थानीयले माग राखेका छन् ।
ट्राफिक लाईटको उद्धघाटन पछि मन्त्री लिलाबल्लब अधिकारी , मन्त्रालय सचिव कमल थापा , कोशी प्रदेश प्रहरी कार्यलयका एसएसपी भीम दाहाल , कोशी ट्राफिक प्रहरी कार्यलय ईटहरीका सरोज पौडेल , जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख नवराज कार्की , ट्राफिक प्रमुख सुमन न्यौपाने लगायतले जेब्रा क्रसबाट बाटो काटेर अभ्यास समेत गरेका थिए ।