कोशी प्रदेशमा खेल संघका पधादिकारी र प्रशिक्षकहरुसँग छलफल

<span class='c1'>कोशी प्रदेशमा खेल संघका</span> <span class='c2'>पधादिकारी र प्रशिक्षकहरुसँग छलफल</span>

विराटनगर । विराटनगरको कंचनजंघा पार्टी प्यालेसमा शुक्रबार खेलकुद विकास बोर्ड कोशी प्रदेशले विभिन्न खेल संघका पधादिकारी र प्रशिक्षक हरुसँग छलफल कार्यक्रम आयोजना गरेको थियो।

आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो। १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट कसरी धेरैभन्दा धेरै खेलाडीहरु सहभागी गराएर राम्रो र धेरै उपाधि ल्याउने भन्ने बारेमा छलफल समेत भएको थियो।

यसअघिका धेरै प्रतियोगिताहरु व्यवस्थित नभएको कार्यक्रममा सहभागी खेल संघका पधादिकारी र प्रशिक्षकहरुले आफ्नो-आफ्नो गुनासो र सुझाव राखे। कोशी प्रदेशमा दक्ष र अनुभवी प्रशस्त खेलाडीहरु भए पनि राम्रो नतिजा ल्याउन नसक्नुको पछाडि कमजोर र फितलो व्यवस्थापन भएको उनीहरुले आरोप लगाए। कोशी प्रदेशमा राम्रा खेलाडी छन् तर बीचमा राजनीतिक हावी र दलीय प्रवृत्ति मौलाएका कारण सोचेअनुसारका परिणाम नआएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीण कुमार कार्कीले बताए। खेलकुद क्षेत्रमा राम्राभन्दा पनि हाम्रा मान्छे प्रवेश गराएका कारण नेपालले आज खेलक्षेत्रमा राम्रो नतिजा ल्याउन नसकेको समेत कार्कीले आरोप लगाए। फुटबलको कोचलाई आईटीएफको कोच अनि क्रिकेटको कोचलाई कबड्डीको कोच बनाएर प्रतियोगितामा पठाउने गरेको समेत यसअघिका प्रतियोगिताहरुमा देखिएको उनले सुनाए।

नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि एक मात्र माध्यम भने खेल क्षेत्र हो तर यहाँ दलीय प्रवृत्ति भएका कारण खेल क्षेत्र ओरालो लागेको समेत कार्कीले गुनासो गरे। यसपटकको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउन खेलाडीलाई राम्रो कोचको व्यवस्थादेखि लिएर बस्ने आवास गृह, खानपान, चिकित्सकको समेत व्यवस्थापन गर्नुपर्ने कार्यक्रममा सहभागी मन्त्री तथा खेलकुद विकास बोर्डका सदस्य सचिव लगायत सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी खेलाडी तथा कोचको व्यवस्थापनमा प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बताए। उनीहरुलाई आउने जानेदेखि प्रतियोगिता अवधिभर आवासगृह, खेलाडीको सुरक्षा प्रबन्ध कोशी प्रदेश सरकारले जिम्मा लिने समेत उद्घोष गरे। प्रतियोगिताको लागि जतिसक्दो जिल्ला छनोटको कामहरु यथाशीघ्र सम्पन्न गर्न राईले आग्रह गरे।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आजको कार्यक्रम पहिलो छलफल तथा भेटघाट भएका कारण अब बोर्ड बैठकबाट निरन्तर रूपमा प्रतियोगितामा खेलाडी छनौटदेखि १४ वटै जिल्लालाई तयारी गर्न पहलकदमी चाल्ने खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले जानकारी दिए। कार्यक्रममा विभिन्न जिल्लाका फरक-फरक खेल जगतका कोच तथा खेलाडीहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्