जिपी कोइराला सेन्टरले विराटनगरमा निकट भविष्यमै एक राजनीतिक संग्रहालय र अन्तर्राष्ट्रियस्तरको सभागृहको निर्माण गर्ने भएको छ । शुक्रबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सेन्टरका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले राजनीतिक संग्रहालय र अन्तर्राष्ट्रिय सभा हलको निर्माण गरिने जानकारी दिएकी हुन् ।
अध्यक्ष कोइरालाले विराटनगरलाई औद्योगिक तथा पारवहन केन्द्रका रूपमा थप विकास गर्न नयाँ जागरण अभियान थालनी गरिने बताइन् । विराटनगरको विकासको व्यवस्थापन योजनाबद्ध ढङ्गबाट नभएको चर्चा गर्दै उनले यसलाई संगठित ढाँचामा अघि बढाउने आवश्यकता देखिएको छ धारणा प्रकट गरिन् ।
कार्यक्रममा उपसभामुख पूर्णकुमारी सुवेदीले विकास निर्माणका लागि विराटनगरवासीले देखाएको चासो सराहनीय रहेको प्रतिक्रिया व्यक्त गर्दै दलका नेताहरू राजनीतिको घेराबाट माथि नउठेसम्म उत्रतिका ढोकाहरू खुल्न नसक्ने उल्लेख गरिन् । विराटनगरजस्तो ऐतिहासिक र आर्थिक विकासका लागि महत्वपूर्ण ठाउँलाई राज्यले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र विकास निर्माणका लागि दृढ राजनीतिक ईच्छा शक्ति हुनुपर्ने सुझाव दिंदै उनले नेपाली क्रान्तिका महानायक स्व. गिरिजाप्रसाद कोइरालाको गृहनगर ओझेलमा पर्न नहुने विचार व्यक्त गरिन् ।
कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष एवं महेन्द्र मोरङ क्याम्पसका अर्थशास्त्र विभागका अध्यक्ष प्रा.डा. घनश्यामलाल दासले ‘सुन्दर महानगरका रूपमा नयाँ विराटनगरको परिकल्पना’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे ।
प्रा.डा. दासले विशेष आर्थिक क्षेत्र, यातायात र सञ्चार, व्यापारिक केन्द्र, शैक्षिक केन्द्र, पर्यटन केन्द्र, नागरिक सुविधाको विकास, आधुनिक भवन तथा कोलोनीको विकास निर्माण, हरित क्षेत्र एवं पर्यावरण र शान्तिसुरक्षा गरी विकासका निमित्त छुट्टाछुट्टै नौ वटा उपशीर्षकमा विकासका अवधारणा प्रस्तुत गरेका थिए ।
‘आज विराटनगरस्थित मिल्स एरियाका प्रायः जसो उद्योगहरू बन्द रहेका छन् । हजारौं मजदुर बेरोजगार भएका छन् । त्यहाँका ठूला उद्योगका जग्गा, घर, मेसिन प्रयोगहीन भएका छन्’, दासको कार्यपत्रमा भनिएको छ, ‘तसर्थ विराटनगर जुट मिल्स, मोरङ सुगर मिल्स र अमडुवा फाराममा भएको करिब ६ सय बिघा जग्गा र त्यस क्षेत्रको १ हजार बिघा जग्गा अधिग्रहण गरी जिपी कोइराला स्पेसल इकोनोमिक जोन बनाउनु पर्दछ ।’
दासको कथन थियो, ‘यसबाट विश्वप्रसिद्ध मजदुर नेताप्रचि सच्चा श्रद्धाञ्जलीका साथै त्यस क्षेत्रमा राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रत्यक्ष लगानीको समेत वृद्धि हुनेछ ।’
त्यस्तै यातायात र सञ्चारतर्फ जोगबनी–धरानको मार्ग ६ लेनको गरिनुपर्ने, विराटनगरका मुख्य चौकहरूमा अटोमेटिक इलेक्ट्रोनिक ट्राफिक सिग्नल राखिनुपर्ने र जोगबनी–इटहरी मेट्रो सञ्चालन गरिनुपर्ने उनको सुझाव छ ।
प्रा.डा. दासले विराटनगरको सिंघिया र केसलिया नदी किनारमा विद्युतीय शवदाह गृहकोे निर्माण गरिनुपर्ने, शहरमा मुसलमान, क्रिस्चियन तथा अन्यका लागि छुट्टाछुट्टै ग्रेभयार्डको निर्माण गरिनुपर्ने र नगरभित्र आधुनिक पार्कको निर्माण हुनुपर्ने कुरामा जोड दिए ।
उनको कार्यपत्रमा नगरभित्र आन्तरिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन वटा छुट्टाछुट्टै बसपार्कको निर्माण गरिनुपर्ने उल्लेख छ । साथै विराटनगरबाट भारत, बङ्गलादेश र भूटानसम्म बस सेवा सञ्चालन गर्न नेपाल सरकारले ती देशसित संझौता गर्नुपर्ने बताइएको छ ।
यसबाहेक नगरभित्र म्युजियम र चिडियाखानाको पनि निर्माण आवश्यक रहेको उनको धारणा छ ।
प्रा.डा. दासको कार्यपत्रउपर टिप्पणी गर्दै मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहराले नेपालको विकासको एक मात्र एजेन्डा जलविद्युत्को विकास रहेको हुँदा यसमा लगानी बढाउनुपर्ने कार्यक्रमहरू प्रस्तुत गर्न आग्रह गरे ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष दिनेश गोल्छाले विद्युत् नभएसम्म कुनै पनि आर्थिक र औद्योगिक विकासको कल्पना गर्न नसकिने बताउँदै सेन्टरले विद्युत् आपूर्तिका लागि पहल गर्नुपर्ने चर्चा गरे । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, समाजसेवी गोविन्द भट्टराई, शिक्षासेवी भेषराज पोखरेल, कांग्रेसका नगर अध्यक्ष भीम पराजुली, महिला नेतृ गीता सिलवाल लगायतले कार्यपत्रउपर टिप्पणी गरे ।