-ऋषि तिवारी
आज ओछ्यानबाट उठ्न नपाउँदै छोरीले भनी, बाबा ! "दशैं कहिले आउँछ?" मैले मनमनै सोचें, यी छोरीले पक्कै पनि सपना देख्दै गरेको हुनु पर्छ। किनकी केटाकेटीहरु सपना न देखि केही कुरो गर्छन जस्तो मलाई लाग्दैन ।
मैले भनें- "आउँछ नि बाबु, दशैं आइ हाल्छ नि ।" "कहिले आउँछ बाबा ?" फेरि छोरीको प्रश्न सोझियों मतिर ।
हामी बाबा- छोरी गफ गर्दै गरेको सुनेर छेऊमै सुतेको भाई पनि ब्युझिएँछ। उसले पनि उठ्तै भन्न थाल्यो आफ्नो तोते बोलीमा, "बाबा, हजुल ल दिदीले ते कुला गलिसिएँको ?"
"दशैंको कुलो गलेको नि बाबु ।" उसैगरी दिदीले पनि भाईकै तोतै बोली बोलेर जवाफ फर्काई ।
हो बाबा भन्न थाल्यो सानो छोरोले पनि, मैले हो बाबु भन्दिएँ।
ऊ खुशी हुन थाल्यो र उही तोते बोलीमा भन्न थाल्यो,आहाँ अब दशै आउँछ ले, बाबाले नयाँ नाना अनि चिची ल्यानु हुन्छ रे भन्दै उफ्रिदै मम्मी खोज्न थालेछ।
अब यता फेरि छोरीले भन्न थाली, "बाबा हामी भाई र दिदीलाई के किनिदिन्छ यसपालीको दशैमा?" "छोरी, नानी, दशै आओस न पहिला म किनिदिई हाल्छु नि ?" "अनि तपाईले अघि दशैं आउँदै छ भनेको हैन बाबा?" फेरि अनि दशैं आओस न रे ।" यी छोरीको प्रश्न नै प्रश्नले म आफैं नाजवाफ भैसकेको थिएँ । फेरि उसैगरी सम्झाउँन तिर लागें ।
"अहिले त दशैं काठमाण्डौमा छ नि बाबु, त्यहाँबाट दशैं आउँन दिन, हप्ता अनि महिना पर्खनु पर्छ दशैं आइ हाल्छ नि ?"
यति सम्झाएँ पछि दिदी- भाई मिलेर औला भाँचि- भाँचि दिन गन्दै भन्न थाले, "दशैं आयो, खाउँला- पिउँला, काहाँबाट ल्याउँला? चोरी गरि ल्याउँला, धत पापी म छुट्टै बसौँला ।"
यिनीहरुले औला भाँचि- भाँचि दिन गिन्ती शुरु गरेको देखेर म आफै ट्वाँ परेर यिनीहरुको खुसी हेरिरहेको थिएँ।
विराटनगर-६, ममता-मार्ग ।