-भरत गुरागाई 'बर्बरिक'
सिन्दुर पोते बिर्सिएर घाइते महारानी
उनको प्रिय पात्र
गगनसिंहको आलाप गरिरहिछिन् ,
कौशीमा बसेर षड्यन्त्रको जालो बुन्दैछिन् ।
यो भण्डारखाल समय हो
मार्नुछ महारानीले
केही थान रहस्यहरु,
शरीर बेचेरै भए पनि
निभाउनुछ फैलिँदै गरेका उग्र डढेलाहरु,
उकुसमुकुसलाई छोपेर आँसुले
दुनियाँ सामु देखाउनुछ आफूलाई शान्त,
यतिबेला सहारा खोजिरहिछिन् महारानी ।
यहाँ भण्डार लागेको छ,
उनका दास-दासीहरु आदेश पर्खिरहेछन्,
पोटासियम साइनाइड घोलिएको छ भोजनमा,
कसैलाई मार्नुपर्यो भने
उनी हरेक कुराको भण्डार लगाउने गर्छिन् ।
नामको भोक असाध्य सल्बलाइरहेछ
बितेका रातहरु स्मृतिमा तरोताज छ
गगनसिँह महान मिथक बनेर
नयाँ-नयाँ गगनसिँहहरु जन्मिरहेछन्,
केही थान जीवित मासुका फोस्रा डल्लाहरु
महारानीको सिक्काले खरिद भएर
गुलाम भएकाछन्
सभक्ति भजन गाइरहेछन् विचराहरु ।
कविहरु दुनियाँको कविता लेख्छन्
यो स्वभाविक हो, कविहरु कविता लेख्छन् ,
पैसाको विस्तरामा सुतेकी महारानीले
स्वयंलाई कवि घोषणा गरिन् भने
कुन गगनसिंहले लेखिदिन्छ कविता ?