विराटनगर । विराटनगर महानगरपालिकाले आगामी पुस पहिलो साता रोजगार मेला आयोजना गर्ने तयारी गरेको छ । इको फन पार्कमा महानगरपालिकाको आर्थिक विकास महाशाखाले स्थानीय युवाहरूलाई रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागेको हो ।
मेलामा स्थानीय तथा क्षेत्रीय कम्पनीहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ। इच्छुक कम्पनीहरूले मंसिर २५ गतेसम्म आफ्नो जनशक्ति आवश्यकताका बारेमा विवरण पेश गर्न सक्नेछन् । आयोजकले प्रत्येक कम्पनीलाई टेबल, कुर्सी र खाजाको व्यवस्था गर्नेछ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने यस मेलामा स्थानीय युवाहरूलाई प्रत्यक्ष रोजगारीका अवसरहरू प्रदान गर्ने लक्ष्य राखिएको छ। कम्पनीहरूले आफ्नो स्टलमा आवश्यक व्यानर र सजावट गर्न सक्नेछन् । महानगरपालिकाका पदाधिकारीहरूले यो रोजगार मेलाले स्थानीय युवाहरूलाई रोजगारीका नयाँ सम्भावनाहरू खोल्न महत्वपूणर् भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
मेलाले स्थानीय श्रम बजारलाई गतिशील बनाउन र बेरोजगारीको समस्या कम गर्न सघाउ पुर्याउने अपेक्षा राखिएको महानगरको रहेको छ । महानगरपालिकाले पछिल्लो वर्ष पनि रोजगारी मेला आयोजना गरेको थियो ।