विराटनगर । उद्योगको ब्रान्ड र प्याकेजिङ्ग चोरी गरेर डिटरर्जेन्ट पाउडर उत्पादन गर्दै आएको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले यूनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ । भारतमा उत्पादन भई नेपालमा आयात हुँदै आएको पतञ्जली र फेना सर्फसँग मिल्ने ब्रान्ड र प्याकेजिङ्ग समेत उस्तै राखेको आरोपमा विराटनगर–५ दामाबन्दीस्थित उद्योग शिलबन्दी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहका अनुसार उद्योगले उत्पादन गरेको सामान नियन्त्रणमा लिएर अहिले थप अनुसन्धानका लागि उद्योग विभागसँग अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले ब्रान्ड नेम र प्याकेजिङ्ग चोरी भएको हो वा हैन यकिन गरिदिन र उत्पादन गरेर बजारमा पठाएको वस्तुको गुणस्तर परीक्षण गरिदिन विभागलाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी साहले जानकारी दिएका छन् ।
यूनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजले भारतको फेनासँग मिल्ने प्याकेजिङमा यूनिक फेना र पतञ्जलीसँग मिल्ने पातजली डिटर्जेन्ट उत्पादन गरेर बजारमा बिक्री वितरण भईरहेको बेला गत शुक्रबार नियन्त्रणमा लिइएको थियो । बजारमा उत्पादन बिक्री गर्दै आएका व्यत्तिलाई नियन्त्रणमा लिएर उद्योगमा पुग्दा सञ्चालक मनोज यादवले उद्योग बन्द गरेर भागेको अवस्थामा प्रशासन पुगेको थियो । त्यसपछि ताला खोल्न लगाएर हेर्दा उस्तै प्रकृतिको ब्राण्ड नेम र उस्तै प्याकेजिङ्गमा राखिएका दुई उत्पादन बरामद गरेको थियो ।
‘ठ्याक्कै ब्रान्ड र प्याकेजिङ्ग चोरी भएको वा नभएको भन्ने यकिन गर्ने जनशक्ति हामीसँग छैन’ सहायक प्रमुख जिल्ला अधिकारी साहले भने–उद्योग विभागले यो बौद्धिक चोरी हो की हैन भन्नेदेखि यस भित्रको वस्तु गुणस्तरको हो कि हैन भन्ने यकिन गर्नुपर्ने देखिएको छ । उद्योगको गाडी भने जिल्ला प्रशासन कार्यालयमा लगेर राखिएको छ ।
पतञ्जली आयुर्वेद प्रा.लि.विरगञ्जको उत्पादन विराटनगरमा श्रीकृष्ण ट्रेडर्स आधिकारिक बिक्रेता रहेको छ । यसका सञ्चालक अरुण जैनका अनुसार पतञ्जलीको एक केजीको सर्फको मूल्य १२५ रुपैँया रहेको छ । ठ्याक्कै उहि प्याकेजिङ्गमा पातजली बनाएर यूनिक सोपले बजारमा ल्याएको प्याक ९०० ग्रामको मात्रै छ । जबकी ९०० ग्राम वजन भएको प्याकेजिङ्ग गर्न समेत मिल्दैन । त्यस्तै फेनाको जस्तै प्याकेजिङ्गमा ल्याएको यूनिक फेनाको मूल्य १०० राखिएको छ । फेना एकेजीको मूल्य भने १२५ रहेको यसका आधिकारिक बिक्रेता भगवती ट्रेडर्सका नितेश अग्रवालले जानकारी दिएका छन् । पतञ्जलीले आफ्नो उत्पादन नक्कली भएको भन्दै उद्योगलाई यस अगाडी नै पत्राचार गरिसकेको थियो । तर, उद्योगले बारम्बार उस्तै प्याकेजिङ्गमा उत्पादन बजारमा ल्याएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको थियो ।
उद्योगका सञ्चालक मनोज यादवले भने ब्रान्ड चोरी गरेको भन्न नमिल्ने दावी गर्दै आएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी साहले शब्दमै फरक पर्दा त्यसको निरुपण कसरी गर्ने भन्ने यकिन पनि उद्योग विभागले गर्नुपर्ने देखिएको बताएका छन् । डिटर्जेन्ट पाउडर आयात गरेर प्याकेजिङ्ग गर्नुपर्नेमा भित्रको वस्तुमा समेत शंका गर्नुपर्ने अवस्था रहेकोले गुणस्तर समेत अध्ययन गर्नुपर्ने अवस्था देखिएको हो । यता आधिकारिक बिक्रेताले भने डिटर्जेन्ट पाउडरको स्थानमा यूनिक सोपले ब्लिच सोडामा कलर मिलाएर आफ्ना उत्पादनलाई उस्तै देखिने प्याकेजिङ्गमा बजार पठाउँदै आएको दावी गरेका छन् । यदि त्यो अवस्था रहे उपभोक्ता ठगी समेत गर्दै आएको आशंका छ ।