विराटनगर । आठौं संस्करणको विराट एक्स्पो विद्यार्थी माझ आर्थिक रुपान्तरण र स्टार्टअप उत्पादन गर्दै आइतबार समापन भएको छ । उद्योग संगठन मोरङले विराटनगर १४ स्नातकोत्तर क्याम्पस परिसरमा माघ ११–२० आयोजना गरेको एक्स्पो केहि नयाँ प्रयोगमा सफल भएको हो ।
पछिल्लो समय विराटनगरमा आयोजना हुने अधिकांश व्यापार मेला सांगितीक कार्यक्रमका प्लेटफम मात्रै हुने गरेका छन् । व्यापार मेलामा हुनुपर्ने आर्थिक कारोबार र अवलोकन भन्दा सांगितीक कार्यक्रमका लागि हुने जमघट बढी हुने गरेका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोमा समेत सांगितीक कार्यक्रम भव्य तर व्यापारिक कारोबार अपेक्षा गरे अनुसार नभई समापन भएको छ ।
यद्यपी यस पटकको एक्स्पोलाई राष्ट्रिय अर्थतन्त्रमा कसरी रुपान्तरणकारी योजना निर्माण गर्ने भन्ने थिममा सफल भएको कतिपयको भनाई छ । एक्स्पोमा ३३ वटा कलेजका तीन हजार विद्यार्थीबीच आर्थिक अवसर विषयक अनुशिक्षण गराइएको थियो । यसैगरी ३३ स्टार्टअपका आइडिया मध्ये राम्रा दशजना स्टार्टअप उत्पादन गरिएको छ । एक्स्पोको महत्वपूर्ण पाटो नयाँ दशजना व्यवसायी उत्पादन गर्नुपनि रहेको छ ।
स्टार्टअपमध्ये पनि तीन उत्कृष्ट आईडियालाई कार्यक्रम स्थलमै ५०, ३० र २० हजार राशीको पुरस्कार समेत प्रदान गरिएको थियो ।
यसैगरी ९०० जनालाई सीपमुलक तालिम प्रदान गरिएको छ । जस्तै कफी, सिसीटिभी र मोटर मर्मतको तालिमका शिर्षक रहेका थिए । यसैगरी उद्योग संगठन मोरङको आफ्नै कार्यक्रम बिटुबीको बिजनेश क्लिनिकमा ४२ वटा उद्योगी सूचिकृत भएका छन् । मेरो देश मेरो उत्पादनका लागि २५ उद्योगले आवेदन दिएका छन् ।
उद्योग संगठन मोरङको नौ दिनको एक्स्पोमा ६ दिन बिजनेश थिम कन्फरेन्स भएको थियो । जसले धेरैलाई औद्योगिक, व्यापारिक योजनाको धारणा निर्माणमा सहयोग गरेको अपेक्षा राखिएको छ । एक्स्पोका संयोजक एवं उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलालले आइतबार समापन कार्यक्रममा आर्थिक कारोबार भन्दा पनि आर्थिक विकासको थिम दिन सफल भएको स्वीकार गरेका थिए । उनले आर्थिक बहसको केन्द्र एक्स्पोलाई बनाउन सक्नु सफलता भएको बताएका हुन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले राम्रो प्रयासबाट सकारात्मक नतिजा दिन सफल भएको प्रतिक्रिया दिए । उनले बाहिर जस्तो चर्चा भएपनि एक्स्पो आयोजना गर्ने उद्देश्य पूरा भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका विभिन्न वस्तु तथा सेवा प्रदायकका २ सय ६८ वटा स्टल थिए ।