इशु पन्त
विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको निःशुल्क एभपीभी खोप अन्तर्गत विराटनगरमा बुधबार दुई हजार ९ जना लाभान्वित भएका छन् । मंगलबार महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर १७ स्थित असर्फिया मदर्सामा शुभारम्भ गरेसँगै बुधबारदेखि विराटनगरमा खोप अभियान अन्तर्गतको कार्यक्रम प्रत्येक वडामा सुरु गरिएको हो ।
महानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा खोप फोकलपर्सन यादव गौतमका अनुसार दैनिक सबै वडामा अभियान अन्तर्गतको कार्यक्रम सञ्चालन हुनेछ । वडा स्वास्थ्य कार्यालय र थ प खोप केन्द्रसहित विद्यालयमा यो कार्यक्रम सुरु भएको हो । हरेक दिन वडाको एउटा बिद्यालयलाई केन्द्र तोकेर खोप लगाउने कार्यक्रम राखिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा तथा विद्यालय बाहिरका १०–१४ वर्ष उमेर समूहका बालिका लक्षित खोप अभियान देशव्यापी चलिरहेको छ । विराटनगरमा १२३ विद्यालय, १९ वटा स्वास्थ्य संस्था, ३० वटा थप गरि १७२ केन्द्रमा खोप लगाइनेछ । महानगरका स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दिपक भट्टराईका अनुसार कम जनशक्ति भएको कारण सबै वडामा खोप अभियान सुरु भएतापनि बिद्यालयको हकमा भने समय तालिका छुटियाइएको हो । कुन बिद्यालयमा गर्ने भनेर दिन तोकिएको छ ।
जसमा कक्षा ६ मा अध्यनरत छात्रा २ हजार ६९९ जना, कक्षा ७–१० (छात्रा) ९ हजार ७२८ जना, विद्यालय बाहिर १० वर्षका बालिका ११० जना र ११–१४ वर्षका बालिका (विद्यालय बाहिर) दुई हजार सात जना गरि जम्मा १४ हजार ५४४ खोप लक्षित रहेका छन् ।