विराटनगर । अपराधका प्रकृति र प्रवृत्ति परिवर्तन भईरहेकोले अनुसन्धानलाई प्रविधि वैज्ञानिक र परिणाममुखी बनाउनु पर्ने निष्कर्ष प्रहरी अधिकारीहरुले निकालेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धान समिक्षा गोष्ठि–२०८१ मा अपराधको प्राररुप बदलिएकाले अनुसन्धान अधिकारीको भूमिका पनि प्रभावकारी हुनुपर्ने निष्कर्ष निकालिएको हो ।
प्रहरीका उच्च अधिकारीहरु समेत सहभागी समिक्षा गोष्ठिमा कानुनी परिधि भित्रबाटै वैज्ञानिक, प्रमाणमुखी र पीडितमैत्री अनुसन्धानमा ध्यान पु¥याउनुपर्ने विषयहरुमा छलफल गरिएको थियो । जसमा अनुसन्धान अधिकारीले प्रभावकारी भूमिका, घटनास्थलको सुरक्षामा आम नागरिकको भुमिका बढाउन जरुरी रहेको निष्कर्ष समेत निकालिएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले समिक्षा गोष्ठी गरेको थियो । जसमा अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन नयाँ प्रविधिको प्रयोग बढाउनुपर्ने र त्यसका लागि संरचनागत सुधार आवश्यक रहेको बताइएको थियो । गोष्ठिमा साईवर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा समेत छलफल भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले अपराध अनुसन्धानको क्रममा देखिएका समस्यालाई उजागर गर्न र अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको पहिचान गर्न जरुरी रहेको बताएका थिए । उनले अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको सन्दर्भमा अब प्रहरीले गर्ने अनुसन्धानलाई प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गर्न जरुरी रहेको औल्याएका थिए ।
उनले अनुसन्धानलाई सफल बनाउन जरुरी रहेको बताएका हुन् । यसका लागि नागरिकलाई घटनास्थलको सुरक्षा कसरी बढाउने भन्ने सचेतना गराउन आवश्यक रहेको बताएका थिए ।
मोरङ जिल्ला अदालतका माननीय न्यायाधीश श्रीमान् सीता शर्मा अधिकारीले प्रहरीले गर्ने अनुसन्धानले नै न्याय सम्पादनका लागि मुख्य आधार भएकोलेपारदर्शी, स्वच्छ र तथ्यपरक बनाउन आवश्यक रहेको बताएकी थिइन् । त्यसका लागि प्रहरीले निष्पक्ष र प्रभावकारी भुमिका निर्वाह गर्नु उनको भनाई थियो ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले प्रहरीले गर्ने अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन भर्ना छनौट प्रकृया देखिनै बैज्ञानिक पद्दति अनुसार दक्ष प्रहरी जनशक्ति उत्पादन गरी प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने आवश्यकता महसुश भएको बताएका थिए ।