मोरङ, चैत्र ११ गते। मोरङको केरौन ५ मा शुक्रबार ट्याक्टरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने मोहन धिमालको ३ बर्षिया छोरी मौनता धिमाल रहेकी छन्। धिमालको घर अगाडी रोकेर राखेको ट्याक्टरमा चढेर खेल्ने क्रममा अचानक ट्याक्टरबाट लडेर बालिका घाईते भएकी थिईन।
घाईते बालिकालाई उपचारकालागी बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी रमाईलोले जनाएको छ। यता संखुवासभाको खाँदबारी नगरपालिका ९ मा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाईते भएका छन्। कोशी राजमार्ग अन्तर्गत सभाखोलाबाट तुम्लिङटारतर्फ जाँदै गरेको को १ त ४८८४ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई १ सय मिटर तल खसेको थियो।
दुर्घटनामा परी घाईते हुनेहरुको तत्काल नामथर खुल्न नसकेको प्रहरी चौकी अस्थायी प्रहरी पोष्ट सभाखोलाले जनाएको छ। घाईतेहरुलाई उपचारकालागी मातामनकामना अस्पताल तुम्लिङटार पठाईएको छ।