काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन् ।
विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामा नै गहिरो प्रभाव पर्दै आइरहेकोमा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताएका हुन् ।
उनले भने, ‘कम्प्युटर र ए.आईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ । आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ । उपनिशषदको ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्दरण गर्दै उनले यो संस्कृत सम्मेलनले युद्धको बिभीषिका र सन्त्रासमा उल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानवसभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताउँदै भने, ‘तर त्यो अपर्याप्त छ, र अझ धेरै काम गर्न बाँकी छ, त्यसमा सहकार्य पनि आवश्यक छ । राष्ट्रपति पौडेलले विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस््कृत भाषाको चरम विकास भंएकोबेला ठालुहरूले दलित वाँ अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भनेर सिमाकरण गरेकाले जनबोलीको भाषा हुन नसकेको उल्लेख गर्दै संस्कृतलाई जनबोलीको भाषा बनाउन आवश्यक भएको बताए । उनले नेपाल प्राचीन कालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएका थिए भने वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको स्पष्ट पारे ।
राष्ट्रपनि पौडेलले राजर्षि जनक, शान्तिसन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उल्लेख गर्दै भने, ‘नेपाल एउटा प्राचीन राष्ट्र हो, जसको इतिहास दुई हजार पच्चीस सय वर्षदेखि निरन्तर रहँदै आएको छ । नेपाल शब्दको प्रयोग अथर्ववेदमा नै भएकाले र पौराणिक, तान्त्रिक, स्मृतिग्रन्थ, आयुर्वेद, कौटिल्यको अर्थशास्त्र आदि प्राचीन लाखौँ ग्रन्थहरूमा नेपालका विषयमा अनेक प्रसङ्ग आएकाले यसको प्रचीनता, सनातन वैदिक परम्परा निष्ठता, शान्तिप्रियता, सहिष्णुता, समन्वयमूलकता यस देशको स्वभाव रहँदै आएको बोध हुन्छ । उनले लिच्छविकालमा संस्कृत नै राजभाषा भएको कुरा तत्काल कुँदिएका २०० भन्दा बढी शिलापत्र र अभिलेखहरू प्राप्त भएबाट पुष्टी हुने भन्दै भने, ‘मल्ल र शाहकालमा पनि हजारौँ हजार संस्कृतका ग्रन्थहरू रचना भएबाट र वर्तमानमा पनि संस्कृतका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गमभूमिमात्र होइन उर्वरभूमि हो भन्ने कुरा सिद्ध हुन्छ ।’