काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)को जनताको बहुदलीय जनवादको तीन दशक जननेता मदन भण्डारीको अभावका दशक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको अभावका कारण जबजको समय अत्यन्तै चुनौतिपूर्ण रहेको बताएका हुन् ।
उनले भने, ‘जबजको विचार तीन दशकभन्दा बढी लामो अवधीदेखि चर्चामा छ । ०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । त्यसयताका तीन दशकका समय जननेता मदन भण्डारीको अभावका दशकका रुपमा वित्यो । उहाँको निधनपछि ०५० साल पछिको समय अत्यन्तै चुनौतिको दशक रहयो ।उनले सोभियत संघ ढलेपछिको अवस्थामा वामपन्थी शक्तिहरुको परिस्थिती सजिलो नभएको भन्दै उनले नेकपा (एमाले) लाई झुसे बारुलोको रुपमा लिएको बताए । 
‘नेकपा एमालेलाई झुसे बारुलो ठान्थे मान्छेहरु । तर एमालेलाई झुसे बारुलो थिएन । कहिलेकाहीं चिल जस्तो ठुलो पंक्षीलाई सानो चिभे चराले लखेटेर हैरान बनाउँछ, त्यसैले एमालेलाई कमजोर ठान्न मिल्दैन् । यहाँ आकार मात्र हेरेर हँुदैन,’ प्रधानमन्त्री ओलीले थप भने, ‘त्यो सँग विचारको दम छ कि छैन, त्यसको उद्देश्यसहित प्रतिवद्धता कस्तो छ ? त्यसको विचार अनुसारको दम छ कि छैन भन्ने हेर्नुपर्छ । त्यसकारण नेकपा (एमाले) देख्दाको आकार मात्र होइन दुनियाको वामपन्थी आन्दोलनमा एउटा असाधारण शक्ति हो । एमाले आफैमा एउटा शक्ति हो । उनले केही मानिसहरु पार्टी सिध्याउन तिर लागेको भन्दै एमाले कमजोर नरहेको बताए ।