खुला सीमा र मधेश केन्द्रित दलको सम्भावित अवरोधलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्वाचन लक्षित सुरक्षा योजना तयार पारेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशासनले सुनसरीमा सुरक्षा संवेदनशिलताको मूल्यांकनका आधारमा सुरक्षा रणनीति लागू गर्ने तयारी गरेको छ । जिल्लास्थित सुरक्षा समितिको बैठकले जिल्लाका ७ क्षेत्रलाई अति संवेदनशिलताको सूचीमा राखी सोहीअनुरुपको सुरक्षा रणनीति अघि बढाएको छ ।
जसअनुसार दुहवी नगरपालिकाका साथै गढी, बर्जु, देवानगञ्ज, हरिनगरा, भोक्राहा र कोशी गाउँपालिकालाई अति संवेदनशील मानिएको छ । सुनसरी प्रशासनले धरान र इटहरी उपमहानगरपालिकासहित इनरुवा, रामधुनी र बराह नगरपालिकालाई संबेदनशिल क्षेत्रका रुपमा लिएको छ । खुला सीमा र अन्य सम्भावित अवरोधलाई मध्यनजर गर्दै आवश्यकताअनुसारको सुरक्षा सतर्कता बढाइने सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए ।
सुनसरी प्रशासनले भारतसँग सीमा जोडिएको खुला नाकाका साथै मधेशवादी दलको सम्भावित अवरोध, सीके राउतको स्वतन्त्र मधेश गठबन्धन र भूमिगत सशस्त्र समूहको गतिविधिलाई प्रमुख सुरक्षा चुनौतीका रुपमा लिएको छ ।