विराटनगर । मोरङको बूढीगंगा ६ स्थित कोयलपुर नहर छेउमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर नजिकको घारीमा शनिबार साँझ शव फेला परेपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार नहर नजिकै घारीमा सडेको अवस्थामा ती वेवारिसे महिलाको शव फेला परेका हो । शवको अवस्था सडेर दुर्गन्धित भएकाले पहिचान गर्न समस्या आईपरेको छ,‘‘चुडालले भन्नुभयो, ‘‘महिलाले लगाएको कपडाको आधारमा हामीले पहिचान लगाउने प्रयास गरिरहेका छौँ ।’’ शवलाई अहिले कोशी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ ।

महिलाको पहिचान गर्न तस्वीरमा देखिएको लुगा कसैले चिनेमा नजिकै रहेको प्रहरी वा आफन्तलाई जानकारी दिन पनि मोरङ प्रहरीले आग्रह गरेको छ । महिलाको उमेर अन्दाजी ३०—३५ बर्षको अनुमान गरिएको छ ।

