विराटनगर । आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । विराटनगरमा रहेको भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कविगोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
आइतबार बिहान सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्बिरसहित रथयात्रा निकालिएको थियो । रथयात्राले विराटनगरका विभिन्न स्थानको परिक्रमा पश्चात सोही स्थानमा पुगेर समापन भएको थियो । रथयात्रापछि आयोजित बहुभाषिक कवि गोष्ठीमा कवि मधु पोखरेल, शिवनारायण सिंगल, मीनकुमार नवोदित, सरिता तुलाधर, भवानीप्रसाद पोखरेल, सरला चापागाईंलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरे ।
सोही अवसरमा कवि सीमा आभास र कलाकार सञ्जय मण्डललाई सम्मान गरिएको थियो । कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल, सचिव प्रचण्ड पौडेल, अग्रज साहित्यकार खेम नेपाली, डा. देवी पन्थी, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, भारतबाट आएका साहित्यकार पीएस यादव अजनवी, विराटनगर प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभागका प्रमुख शिवनारायण पण्डित सिंगललगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।