विष्णुपादुकालाई धरानसँग जोड्ने धरानको वडा ११ र २० को बीचमा अवस्थित सर्दुखोलामा पक्की पुल बन्ने भएको छ । जसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) समेत तयार भइसकेको छ । पुल बनेपछि विष्णुपादुकाबासीको जीवनमा आमुल परिवर्तन हुने र यो क्षेत्रले आर्थिक फड्को मार्ने स्थानीयको अपेक्षा छ ।
विष्णुपादुका धरानमा गाभिनु अघि २०४६ सालको परिवर्तनदेखि नै स्थानीयले सर्दुमा पक्की पुलको माग गरेका थिए । तर, राजनैतिक तथा प्रशासनिक पहुँच नहुँदा स्थानीयको आवाज राज्यले सुनवाई गरेको थिएन । तर सर्दुमा पुल बन्ने भएपछि यतिबेला स्थानीय हर्षित भएका छन् । स्थानीय विकास मन्त्रालयको डोलिडार विभाग अन्र्तगतको स्थानीय सडक पुल कार्यक्रम (एल.आर.बि.पि.)ले सर्दुमा पुल बनाउन डिपिआर तयार गरेको छ । डिपिआर तयार भइसकेकाले अबको २ वर्षभित्र पुल निर्माण सम्पन्न भइसक्ने उपमहानगरका योजना अधिकृत वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।
डिपिआरअनुसार कुल १० करोड २६ लाख ५८ हजार ८ सय १४ बराबरको लागत एस्टिमेट तयार भएको छ । पुलको लम्बाई १ सय २१ मिटर र चौडाई ११ मिटर हुनेछ । कृषि उत्पादनको बिक्री, खाद्यान्न किनमेल, उपचार, शिक्षालगायतमा धरानमा निर्भर विष्णुपादुकाको वर्षायाममा भने सम्बन्ध टुट्थ्यो । पुल नहुँदा अत्यावश्यक कामका लागि विष्णुपादुका क्षेत्रका सर्वसाधारणलाई जोखिम मोलेरै सर्दुखोला तर्नुपर्ने बाध्यता छ ।
विष्णुपादुकामा उत्पादित कृषिजन्य उत्पादनको प्रमुख बजार धरान नै हो । हरेक मंगलबार र शुक्रबार धरान–११ स्थित मंगलबारे चोकमा हटिया लाग्छ । तर, बर्खामा बाढी आउँदा गाडी चल्दैन तर स्थानीयले कृषि उत्पादन बिक्री गर्नबाट समेत वञ्चित हुनुपर्छ । यो सडक हुँदै विष्णुपादुका, बराहक्षेत्रका ३ वडा र धनकुटाको आहालेका किसानहरुले आफ्नो नगदेबाली धरान ल्याउने गरेको स्थानीय बताउँछन् ।
धरान–११ मंगलबारे हुँदै विष्णुपादुकाको भञ्ज्याङ पुग्ने सडकको स्तरोन्नतिसँगै ड्रेन निर्माण भइरहेको छ । धरान उपमहानगरपालिका र स्थानीयको संयुक्त लगानीमा ६० लाख एस्टिमेटमा ड्रेन र सडक स्तरोन्नति भइरहेको हो ।