विराटनगर । विराटनगर–११ महेन्द्रचौकदेखि केहि उत्तर, पश्चिम गल्ली छिरेपछि जारजंगलले घेरिएको पक्की घरको एउटा कोठा क्यान्भासमा उतारिएका चित्रले भरिएका छन् । पुराना जति भित्तमा टाँगिएका छन् नयाँ भुँइमा । यो कुनोमा बसेर चित्रकला उतार्दै रंगसँग खेल्ने व्यक्ति हुन भरत डंगोल । उनीे डिके आर्टमा रमाउँदै ५८ वर्ष हाराहारी पुगेका छन् । । तर, पनि रंगसँग खेलेर जीवन बुझाइरहेका भेटिन्छन् । उनको यो यात्रा २०४३ सालदेखि सुरु भएको थियो । अनि निरन्तर चलिरहेकै छ ।
अध्ययनमा खासै रुची भएन । अध्ययन नै नहुँदा पनि सीपमा दक्षताले जीवनलाई सहज नै बनाइरहेको उनको बुझाई छ । पढ्न गएर पनि मन नलागेपछि पेन्टिङ्गमा लागेको उनको भनाई छ । ईच्छा पालेका कारण डंगोलले स्कुल छोडेर विराटनगरको चुलाचुली गल्लीमा कुची कलाकारिता थालेको सुनाउँछन् ।
रंगमाथि कुची (ब्रस) चल्दा सवारीको नम्बरप्लेट, कार्यालयका साइनबोर्ड र कार्यक्रमका ब्यानर बन्थे । सोचमा अचानक बदलाव आयो, कुची र पेन्सिलका चित्र किन फरक छन् । महत्वका हिसाबले पेन्सिलले क्यान्भासमा उतारेका चित्रको माग किन बढी छ भन्ने भएपछि डंगोलले बाटो फेरेका थिए । त्यसपछि रंगसँगको यात्रा मोर्डन आर्टमा हामफाल्यो । २०६४ सालदेखि नारी जीवन र प्रकृति, मानवता र शान्तिका सन्देश दिने चित्र कोर्न थालेको उनको भनाई छ । यो यात्रा २०६७ सालमा आउँदा उत्कर्षमा पुग्यो । क्यान्भासमा पृथ्वीमा उभिएकी नारीले परेवालाई बोलाइरहेको रंग पोतिएको थियो । जसका दुई किनारामा महिला र पुरुष उभिएका थिए । मातृभूमि, नारी र शान्तिसँग मानव जाती बाच्न पाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको यो क्यान्भास तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले मन पराएर ग्रहण गरेका थिए । त्यति मात्रै नभई निरन्तर संघर्षमा रहनु भएका डंगोललाई प्रधानमन्त्री कार्यालयले २०६७ असोज १८ गते उपहार स्वरुप क्यान्भास उपलब्ध गराएकोप्रति धन्यवाद ज्ञापन गरेको थियो । निरन्तर समय चलिरहेको बेला हौसलाले मलाई उक्सायो, डंगोलले भने–रंगसँग खेल्नु जीवनलाई सावित गर्नुजस्तै हो तर हौसला सधैं रहँदैन ।

यात्रा त अनवरत नै चलिरहेको छ तर समय फेरियो । फेरिएको समयले क्यान्भासलाई ओझेलमा पारेको जस्तो अहिले डंगोललाई लागेको छ । ‘मानवता हरायो, जोडिनुपर्ने समाज मन भङ्ग गराउनेतर्पm बढ्यो’ डंगोलले अलिक लामो स्वास तान्दै भने–आमाबुबालाई बृद्धाश्रममा राखेर मन्दिरमा पुजा गर्नेहरुको लर्को लाग्न थाल्यो । भनौं, अहंकारले बुद्धि आएका मान्छेहरु समाजमा हावी भए, आधुनिकताको खपत बढ्दै जाँदा स्वार्थ बढ्यो, डंगोल भन्छन् ।
क्यान्सभासका चित्रको माग पनि विस्तारै घट्दो क्रममा छ । यो क्रम आधुनिकताले बढाएको हो । तर, डंगोललाई रंग छोड्न मन छैन । त्यसैले अहिले बजारमा खेर गइरहेका सीसामा चित्र कोरेर आधुनिकताका पारखीलाई पछ्याउनु परेको सुनाउँछन् । सीसामा उतारेको चित्र र क्यान्भासमा उतारेको चित्रको महत्व फरक छ, उनले भने, हामी पनि आधुनिक हुनपर्नेभयो । डंगोलले सीसा रंगका चित्र मात्रै हैनन्, ढुंगा र बालुवाले समेत प्रकृति र नारी, मानवता र शान्ति उतार्ने गरेका छन् ।
उनको अर्को विशेषता भनेको मूल्यवान क्यान्भास उतारेर पनि पैसामा बिक्री गर्ने लालच छैन । पैसाले मात्रै पुग्ने रहनेछ भन्ने उनको बुझाई छ । मान्छेमा मानवता हराएका कारण अहिले देखाउने व्यवहार एउटा र गर्ने व्यवहार अर्को भईसकेको उनको भनाई छ । उनी भन्छन्–के पढ्छन्, के गर्दछन् ? पढेजति ज्ञान व्यवहारमा उतार्ने दिन सकिएका छन् । उनले चित्र मात्रै कोर्दैनन आजकल । आजकल मान्छेको मन बिग्रिएका कारण आत्माज्ञान दिने किसिमका सन्देश समेत लेखेर निःशुल्क वितरण गर्ने गरेका छन् ।

