विराटनगर।आरोहण गुरुकुल विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास एक चिहान मा आधारित नाटक मञ्चन सुरु भएको छ । यो नाटक दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा तयार गरिएको हो । समाज विकासमा बाधक तत्त्वहरूको पहिचान गर्दै ती हटाउनुपर्ने सन्देश दिने नाटकले नेपाली समाजमा गहिरो गरी बसेका अन्धविश्वास, संस्कारगत जटिलता र धार्मिक रूढीलाई त्यागी सामाजिक परिवर्तनको प्रगतिशील बाटो समाउनुपर्ने विचार प्रस्तुत गरेको छ । यस नाटकमा महेश पासवान, सङ्गीता यादव, उद्धव सापकोटा, दिक्षा चौधरी, गौरव खतिवडा, उपासना राई, शिवराज भुजेल, भरत कार्की, प्रदीप दाहाल, अमिशा वाग्ले, दिव्यङ्का खड्का, सागर घिमिरे, निशान चौहान राईलगायत कलाकारले अभिनय गरेका छन् । मञ्च निर्माण विकास पराजुलीले, ध्वनी परिचालन राज श्रेष्ठले र प्रकाश परिचालन स्वयं निर्देशक भण्डारीले गरेका छन् । कार्यक्रम संयोजक देवेन्द्र यादवका अनुसार विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले माध्यमिक तहको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश उपन्यासलाई नाट्य रूपान्तरण गरिएको हो ।

नाटक भदौ ११ गतेदेखि शुरु भई भदौ २७ गतेसम्म निरन्तर मञ्चन गरिनेछ । एक चिहान नाटकले मानवीय मूल्यबोधलाई केन्द्रमा राखी सामाजिक चेतनाको समसामयिक प्रतिनिधित्व गर्दै नेपाली नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
