फाँटमा पाक्यो अलैंची, किसानका घरमा दशैं अगाडीको खुशी

<span class='c1'>फाँटमा पाक्यो अलैंची, किसानका</span> <span class='c2'>घरमा दशैं अगाडीको खुशी</span>

विराटनगर । इलामको रोङ गाउँपालिका–३ मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैंची टिप्न भ्याईनभ्याई छ । यसबेला चिसो र लेकमा फल छोड्दै गरेको अलैंची बेंसीका खेतमा पाक्न थालेपछि किसानका दैनिकी फेरिएका हुन् । चुरे र बेंसीमा विस्तार भइरहेको यो जात परम्परागत भन्दा भिन्न छ । परम्परागत जातको रुपमा रहेका रामसाई, गोलसाई र चिबेसाई बेंसीका खेतमा हुँदैनन् । तर, तातो, पारिलो र घमाइलो जमिनमा सामान्य सिंचाईले उत्पादन दिने अलैंचीलाई स्थानीय भाषामा ‘पाखे’ वा जिर्मलेसाई भनिन्छ ।

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)का अनुसार यो जात भारतबाट भित्रिएको हो । भित्रँदा पनि अहिलेको रोङ गाउँपालिका–६ (साविक जिर्मले गाउँ विकास समिति) को सकलपुरमा २०४६ सालमा परीक्षण भएको थियो । त्यसैले स्थानीय भाषामा यसलाई जिर्मलेसाई वा पाखा बारीमा हुने भएकोले पाखे भन्न थालियो । यसको विशेषताले खोल्साको सुन भनेर चिनिने अलैंचीलाई खोल्सीबाट खेत–बारीमा निकालिदिएको छ ।

समुन्द्र सतहदेखि एक हजार मिटरसम्म मात्रै यो जातको अलैंची हुने गरेको छ । भौगिलोकि रुपमा यो पेरिफेरीमा बस्नेहरुका दिन यहि जिर्मले साईले सुखमयमा रुपान्तरण गरिदिएको रोङ गाउँपालिका ३ का किसान चन्द्रबीर राईको बुझाई छ । रोङ गाउँपालिका कृषि शाखाको तथ्यांक अनुसार २५० हेक्टर क्षेत्रफलमा वार्षिक १४० मेट्रिकटन अलैंची उत्पादन हुन्छ । यो उत्पादन परम्परागत जातको अलैंची भन्दा बढी हो ।

सिजन लम्बियो
अलैंची उत्पादक महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार लेकबाट बेंसीमा र खोल्साबाट खेतमा अलैंची उत्पादनको प्रक्रिया सुरु भएपछि सिजन समेत लम्बिएको छ । पहाडी तथा हिमाली क्षेत्रको लेकमा मात्रै हुने अलैंची अहिले बेंसीका फाँटमा सरेपछि यसको सिजन साउन अन्तिमदेखि कार्तिकसम्म लम्बिएको हो । भट्टराईका अनुसार अहिले इलामको चुरे क्षेत्रमा उत्पादन भएको अलैंची बोटबाट टिप्ने र सुकाउने कामसँगै बजारमा आउन थालिसकेको छ । यदि चुरेमा अलैंची नहुँदो हो त अहिले लेकको अलैंची बारीबाट झारजंगल हटाउने सिजन मात्रै हुन्थ्यो । थुंगामा रहेको अलैंचीलाई झारजंगलका कारण गुम्स्याउने र ओभाउन नसक्दा कुहिने डर हुन्छ । त्यसैले अलैंची टिप्नुभन्दा एक महिना अगाडीदेखि त्यसलाई उघारो बनाउनुपर्ने हुन्छ । मूल्य बढेर गयो, किसान उत्साहित पनि भए अध्यक्ष भट्टराईले भने े–धान र मकै उत्पादनका लागि आवश्यक जनशक्ति अभाव हुँदैजाँदा अलैंची खेतीले किसानलाई सहज बनाईदियो ।

अलैंचीको मूल्यमा हुने उतारचढावले समेत किसानको दैनिक जीविकोपार्जनलाई असहज नै बनाई हाल्दैन । रोङका अर्का किसान भेषराज न्यौपानेको अनुभवमा सबैभन्दा कम मूल्य प्रति ४० केजी २८ हजारमा बिक्री गर्दा पनि तीन रोपनीमा उत्पादन हुने धान र मकै बराबरको आम्दानी त एक रोपनीमा उत्पादन हुने अलैंचीले थेग्छ । पहाडमा एक रोपनी क्षेत्रफलमा एकवर्षमा २८ हजार रुपिँयाको धान र मकै उत्पादन संभव नभएको न्यौपाने सुनाउँछन् । त्यसैले पनि अलैंचीको मूल्य बढ्दा खुशी हुने किसानले मूल्य घट्दा समेत रोइरहनु पर्ने अवस्था कहिल्यै नआउने न्यौपाने बताउँछन् ।
अलैंची व्यवसायी संघका अध्यक्ष भट्टराईका अनुसार कोशीका सबै जिल्लामा किसान रहेका छन् । त्यसैले व्यवसायी संघका १६ जिल्ला शाखा कोशीमा रहेका छन् । व्यवसायी संघमा व्यापारी मात्रै नभई किसान पनि जोडिने क्रम बढ्दो रहेको भट्टराईको भनाई छ । अहिले अलैंची व्यवसायी महासंघमा एक हजार सदस्यीय रहेको छ । जसमा किसान समेत रहेका छन् । किसानले उत्पादन गर्ने अलैंची खरिद गर्ने व्यापारी भने दुईसय संख्या हाराहारीमा रहेको उनले जानकारी दिए ।

किसानले भोग्नु पर्दैन बिचौलिया
कृषिबाली उत्पादन गर्ने किसानका दुःख भनेको बिचौलियामार्फत बजारमा सामान पुग्नु हो । उत्पादन भएको बाली आफैंले बजारमा ल्याएर बिक्री गर्न समेत बिचौलिया हावी हुने समस्या यत्रतत्र छ । तर, अलैंची उत्पादन गर्ने किसानले बजारको मूल्य घरमै पाउँदै आएका छन् । महासंघका अध्यक्ष भट्टराईका अनुसार अलैंचीको सबैभन्दा ठूलो खरिदबिक्री हुने बजार बिर्तामोड हो । त्यसपछि धुलाबारी मानिन्छ । तर, पछिल्लो समय झापाको धुलाबारी भन्दा बिर्तामोड केन्द्रीत भएर अलैंचीको कारोबार हुने गरेको छ ।
यसरी हुने कारोबारमा बिर्तामोडमा व्यापारीले खरिद गर्ने ४० केजी अलैंचीको मूल्यमा एक हजार कम मूल्यमा घरमै अलैंची किसानले बिक्री गर्ने गरेका छन् । जुन ढुवानी भाडासहितका अन्य खर्च बराबर मात्रै हुने गरेको छ ।

किसानले उत्पादन गर्ने अलैंची स्थानीयस्तरका संकलकमार्फत बजारसम्म आईपुग्ने गरेको छ । स्थानीय व्यापारीले धेरै परिमाणमा अलैंची खरिद गर्न सक्दैनन् । त्यसैले ठुला व्यापारीसँग समन्वय गरेर गाउँभरको अलैंची उठाएर बजारसम्म ल्याउँने गरेका छन् । अध्यक्ष भट्टराईले प्रतिस्पर्धाका कारण बजारसम्म आएको अलैंची चलेको मूल्य भन्दा कममा कसैले पनि खरिद गर्नसक्छ भन्ने नहुने ।
महासंघले कोशी प्रदेशभरमा एकलाख २५ हजार किसान अलैंची खेती गर्ने गरेको तथ्यांक संकलन गरेको छ । यी किसानहरुले आफ्नो उत्पादनको मूल्य नपाएको वा बिचौलियाले वर्वाद पारेको भनेर अहिलेसम्म कहिंकतै गुनासो पोखेको नसुनिएको बताइन्छ ।
देशभरका ४२ जिल्लामा अहिले अलैंची खेती विस्तार भएपनि कोशी प्रदेशमा उत्पादनको ८५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । नेपालबाट भारतमा अलैंचीको निकासी ८० प्रतिशत बढी हुने गरेको छ । भारतमा त्यहाँको खपतपछि बाँकी मुलुकमा नेपाली अलैंची भारतीय ब्राण्डमा जाने गरेको अध्यक्ष भट्टराई बताउनुहुन्छ ।

कोशीका १४ जिल्लामा अलैंची
हिमाल, पहाड र तराईका जिल्लाको भूबनोट रहेको कोशी प्रदेशका १४ जिल्लामै अलैंची खेती विस्तार भएको छ । कोशीमा तराईका जिल्ला झापा, मोरङ र सुनसरीको चुरे क्षेत्रमा समेत अलैंची खेती विस्तार भइसकेको कृषि, उद्योग तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
कोशीमा १४ जिल्लामा अलैंची खेतीयोग्य जमिन १५ हजार हेक्टर भन्दा बढी रहेको कृषि, उद्योग तथा सहकारी मन्त्रालयको तथ्यांकमा देखिन्छ । पछिल्लो तीन आर्र्थिक वर्षको तथ्यांकमा खेतीयोग्य जमिनको क्षेत्रफलमा सामान्य थपघट मात्रै भएको देखिन्छ ।
गत आर्थिक वर्ष २०८१÷२०८२ मा कोशी प्रदेशका १४ जिल्लामा १४ हजार १९१ हेक्टर क्षेत्रफल अलैंची खेतीबाट ७ हजार १५० मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । कोशीमा प्रतिहेक्टर जमिनको उत्पादन शुन्य दशमलव ५० मेट्रिकटन रहेको छ । आर्थिक वर्ष २०८०÷२०८१ मा १४ हजार ३८३ दशमलव ५० हेक्टर क्षेत्रफलमा ७ हजार ५८२ दशमलव ०२ मेट्रिकटन अलैंची उत्पादन भएको तथ्यांकमा उल्लेख छ । यो वर्ष प्रतिहेक्टर उत्पादकत्व भने शुन्य दशमल ५३ मेट्रिकटन रहेको थियो । यसैगरी आर्थिक वर्ष २०७९÷२०८० मा १४ हजार ४५१ हेक्टरको खेतीबाट ७ हजार ७६३ दशमलव ८७ मेट्रिकटन अलैंची उत्पादन भएको थियो । यो आर्थिक वर्षको उत्पादकत्व प्रतिहेक्टर शुन्य दशमलव ५४ मेट्रिकटन रहेको देखिन्छ ।
पहाड र हिमाल मात्रै नभई तराईका जिल्ला झापामा २ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा प्रतिवर्ष १ मेट्रिकटन अलैंची उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी सुनसरीमा ११ हेक्टर क्षेत्रफल अलैंची खेतीयोग्य रहेको छ । जसमध्ये पछिल्लो समयको तथ्यांकमा ५ दशमल ५ हेक्टर क्षेत्रफलमा ३ दशमलव १९ मेट्रिकटन अलैंची वर्षेनी उत्पादन हुने गरेको छ । यसैगरी मोरङमा खेतीयोग्य जमिन ५५ हेक्टरमध्ये ४४ हेक्टरमा ३० दशमलव ०८ मेट्रिकटन अलैंची उत्पादन हँुदै आएको छ ।
कोशी प्रदेशमा खेतीयोग्य जमिन, उत्पादन र उत्पादकत्व सबैभन्दा बढी ताप्लेजुङमा रहेको छ । ताप्लेजुङमा ४ हजार ३०४ हेक्टर खेतीयोग्य जमिनमध्ये ४ हजार १६५ हेक्टरमा अलैंची खेती हुँदै आएको छ । वार्षिक दुई हजार ५५० मेट्रिकटन अलैंची उत्पादन हुने गर्दछ । उत्पादकत्वका हिसाबले प्रतिहेक्टर ० दशमलव ६० मेट्रिकटन रहेको छ ।

मूल्यमा एघार वर्षको रेकर्ड
अलैंचीको मूल्यमा उतारचढाव भइरहन्छ । यसमा विभिन्न कारण छन् । तर, एघार वर्ष अगाडी २०७१ सालमा एकलाख १५ हजार प्रतिमन खरिदबिक्री भएको अलैंची यसवर्ष त्यहि रेकर्ड कायम गर्ने अवस्थामा देखिएको । अलैंची मूल्य कति हुन्छ भन्ने कुरा पहिलो सिजनको किनबेचमै देखिने अध्यक्ष भट्टराईको भनाई छ । नयाँ सिजन सुरु हुँदा यसवर्ष ९० हजार भन्दामाथि अलैंचीको मूल्य रहेको छ । जुन गतवर्ष २०८१÷०८२ को सिजन भन्दा माथि पुग्ने लक्षण हो । गतवर्ष यहि सिजनमा ४० हजारले किनबेच भएको थियो । तिहारपछि एकलाख १० हजारमा किनबेच भएको थियो । तर, यसवर्ष ९० हजारबाट सुरु भएको खरिदबिक्री एकलाख १७ हजारसम्म पुग्ने अनुमान गरिएको छ । अहिले बजारमा ९५ हजार प्रतिमनले अलैंची खरिदबिक्री भईरहेको छ । २०७५ सालमा भने अलैंची एकलाख पाँच हजार प्रतिमन पुगेको थियो । त्यसपछि अलैंची प्रतिमन २४ हजारसम्म झरेको थियो । तर, पुनः बजारमा अलैंचीको माग बढ्दै गएर अहिले प्रारम्भकै मूल्य उच्च रहेको छ ।

सात अर्ब बढीको निकासी
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष अलैंची सात अर्ब ६७ करोड बढीको निकासी भएको छ । भारतमा मात्रै नभई छ वटा मुलुकमा अलैंची निर्यात भएको थियो । नेपालको अलैंची अष्ट्रेलिया, फ्रान्स, भारत, स्वीटजरल्याण्ड र यूनाइटेड अबर इमिरेट्समा समेत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्