तीनकुनेको एउटा चिया पसल । चिया पिउँदै गफ गर्नेहरुको घुईंचो छ । त्यहीबेला बाहिर बाख्रा कराएको आवाज आयो । व्यस्त बजारको चियापसल अगाडि कहाँबाट आयो बाख्रा । सबैले बाहेर हेरे । तर बाख्रा देखिएन । एकजना दुब्ली महिला, बाख्राको आवाज निकालेर कराउँदैछिन् । सबै दंग परे । कसैले फोटो खिचे, कसैले आवाज रेकर्ड गरे ।
फोटो लिने क्रममा उनी भन्दै थिइन्, ‘मेरो आवाज मन पर्यो भने फेसबुकमा सेयर गरिदिनु ल ?’ उनको कुरा सुनेर कतिपयले पैसा दिए । यसैगरी आवाज निकालेर अरुको ध्यानाकर्षण गर्ने र पाएको रकमले घरको गर्जो टाने उनको बाध्यता हो ।
उनी हुन् सन्तोषी सुब्बा । सानो कचौरोमा हँसिलो मुद्रामा आर्थिक सहयोग गर्दै हिँड्दा उनमा न संकोचको रेखा थियो न त ग्लानी नै । आफ्नो खुबी देखाउँदै उनी सबैलाई मोहित पार्दै थिइन् ।
‘मैले धेरै ठाउँमा यसरी आवाज देखाइसके नि । हेर्नु भा छ’, उनी बिभिन्न जनावरको आवाज निकाल्दै बीचबीचमा भन्दै थिइन् ।
‘मैले पशुपतिमा काग कराएको धेरै जनाले मोबाइलमा खिचेर फेसबुक, इन्टरनेट क्यारे यूट्युबमा हाले छन् नि ।’
जति निर्दोष उनको हाँसो छ त्यति नै सफा मन ।
उनी कालोपुल बस्छिन् । उनी ३०/३२ किसिमका आवाज निकाल्न सक्ने बताउँछिन् । उनलाई कुनै जनावर कराएको अवाज सुनेपछि त्यसको नक्कल गर्नुपर्दछ । ‘कुनै नौलो आवाज सुने बाबासँग सोधिखोजी गर्छु’ उनी भन्छिन् ‘कोठा भित्रै बसेर दुरुस्तै निकाल्ने कोशिस गर्छु ।
सन्तोषीलाई धेरै कुरा गर्न आउँदैन । उही हुन्छ हुन्न, यस्तै, त्यस्तै बाहेक । हाँस्दा दाँत खसेका गिजा सर्लक्कै देखिन्छ । तै पनि हिच्किच्याउँदिनन् । उनलाई राम्रो हुन मन लाग्छ । अनि लगाएको कुर्ता सुरुवाललाई मिल्ने गरी ओठमा लाली लाउँछिन् ।
बिहान पूजाआजा पछि भात भान्छाको काम हुन्छ उनको । भाँडा धुने अनि सधैं झैँ पेट भर्ने मेलो सुरु हुन्छ । अब कता जाने कचौरा बोकेर... । रहर कलाकार बन्ने छ । खै कसरी भन्ने बाटो भने थाहा छैन ...।
मागेरै ल्याएको पैसा पनि उनलाई जोहो गर्न मन लाग्छ । सानो बाकस छ । त्यसमा नै पैसा राख्छिन् । तर सम्झने गरी जम्मा गरेको पैसाले केही गर्न सकेकी छैनन ।
घर परिवारका बारेमा उति बोल्न नचाहने उनी आफू ठूलो मान्छे कन्ने र ठूलो मान्छे बनेपछि आफूलाई जन्माउने बाबा खोज्दै आउने बताउँछिन् । - उज्यालो अनलाइन