नेपालमा दोस्रो ठूलो पर्वको रूपमा दिपावली अर्थात तिहार पर्व मनाइन्छ । यसलाई यम पञ्चकले पनि चिनिन्छ । पाँच दिनसम्म मनाइने पर्व भएकोले पनि यम पञ्चक भनिएको हो । यो पर्वमा काग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिन्छ । कागलाई सन्देशवाहक, कुकुरलाई सुरक्षा, गाईलाई समृद्धि, र लक्ष्मीलाई धन र ऐश्वर्यको प्रतीक मानेर पूजिने पर्व भएकोले यसको महत्व अझै बढी रहेको छ । तिहारले मानव र प्रकृति बीचको आपसी सन्तुलनको सन्देश मात्रै दिदैंन, सम्मान गर्ने बानीको विकास समेत गराउँछ । अर्थात, मानवले प्रकृतिसँगको निर्भरता कायम गर्नुपर्दछ भन्ने कुराको महत्वलाई समेत दर्शाउँछ ।
दिपावली र प्रकाशको माध्यमबाट जीवनमा उज्यालो ल्याउनु यसको मर्म हो । घरघरमा दियो बाली दिपावली मनाइन्छ । खासगरी माटोबाट निर्मित पाला बालेर जीवन र जगतलाई जोड्ने उज्यालो पर्वको रुपमा यसलाई हेरिएको छ । अज्ञानको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश फैलाउने सन्देशसँगै देउसी भैलो खेल्ने प्रचलनले सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ नजिक बनाउने गरेको छ ।
तिहारको विशेष महत्व पाँचौं दिनमा मनाइने भाईटिका हो । जसमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्नेहपूर्वक सप्तरङ्गी टीका लगाई माला पहि¥याइदिन्छन् ।
विशेष परिकार खुवाएर भाईबहिनीबीचको प्रेमको झल्को दिपावलीले दिने गर्दछ । अझै भाइटिकाको महत्वलाई हेर्ने हो भने, एउटै घरमा जन्म लिएका दाजुभाई र दिदीबहिनी फरकफरक अवस्थामा आफ्नो दैनिकी गुजारिरहेको बेला तिहारले भेटघाटसँगै स्नेहपूर्वक सम्बन्धलाई जोड्न मद्दत गर्दछ । भाईटिकाको पौराणिक कथा अनुसार, यमराजलाई आफ्नी बहिनी यमुनाले घरमा आमन्त्रण गरेकी थिइन् । बहिनीले टिका र माला लगाएर सत्कार गर्दा यमराजले प्रसन्न भई बहिनीको घरमा वर्षेनी आउने वचन दिएको प्रसङ्ग पनि जोडिन्छ । यस परम्परा अनुसार, भाईटिकाले भाईबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछ । नेपालीहरुले पर्व सामाजिक र साँस्कृतिक एकतासँगै भाइचार बढाउने प्रकारका छन् । जसको महत्वलाई हामी सबैले स्वीकार गर्दछौं । बहुधार्मिक र बहुजातिय देशमा सबैका पर्वको सम्मान सबैले उतिकै गर्ने परम्परा बढ्दो छ । यो नै नेपाली नेपालीबीचको एकता, ज्ञान र प्रकाशको भाव हो । दिपावली सुखद् रहोस् शुभकामना ।