दल विशेषको कार्यक्रम लक्षित गरेर सिमरामा भएको घटना लोकतन्त्रको मान्यता विपरित छ । लोकतन्त्रको आधारभूत मान्यता विपरित जेनजीको नाममा हुने कुनैपनि निषेधका गतिविधि राष्ट्रका लागि साधक हुँदैनन्, बरु बाधक बन्नेछन् । गत भदौ २३ र २४ पछि नै देशको अवस्था राजनीतिक शून्यतातर्फको बाटोमा छ । संविधानले चिन्न नचाहेको व्यक्तिको नेतृत्वमा सरकार रहेको छ । संविधानको रक्षक राष्ट्रपतिले आवश्यकताको सिद्धान्तको आधारमा पूर्वप्रधानन्यायाधीश शुसीला कार्कीलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेर स्पष्ट कार्यदेश तोक्नु भएको छ । जेनजी समेतको सहमतिका आधारमा संविधान बमोजिमको संसद विघठित अवस्थामा रहेको छ । त्यसैले देशलाई राजनीतिक निकास दिनका लागि तत्काल निर्वाचन सम्पन्न गर्नुपर्ने सबैको साझा जिम्मेवारी छ ।
अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने मिति तय गरेको छ । त्यसको तयारी निर्वाचन आयोगले गरिरहेको छ । निर्वाचन आयोगमा नयाँ र पुराना राजनीतिक दल दर्ता भएका छन् । जेनजीले नेतृत्व गरेका दल वा समर्थन प्राप्त गर्नसक्ने नयाँ दलहरु समेत दर्ता छन् । ती दलमार्फत जेनजीहरुले आफ्ना एजेण्डा स्थापीत गर्न संसद भित्रको राजनीतिमा प्रवेश गर्नुपर्ने हुन्छ । तर, सरकारले निर्वाचनको तयारी गरिरहँदा एकले अर्कोलाई निषेध गर्ने मनस्थिति राख्ने हो भने, राजनीतिक निकासको बाटो अवरोध हुनसक्ने संभावना बढ्छ । जसले देशलाई राजनीति शून्यतातर्फ अझै धकेल्छ । यतिमात्रै हैन, कुनैपनि जेनजी नाममा दल लक्षित निषेधले, प्रतिवादको अवस्था सिर्जना गर्दछ । जसबाट सुरक्षा खतरा बढ्न जाने र निर्वाचन हुने वातावरण बिग्रनसक्छ ।
बाराको सिमरामा नेकपा एमाले र जेनजीबीच जुन घटना भयो, त्यसले नै निर्वाचनको वातावरणमा संशय पैदा गरिदिएको छ । सिमरा विमानस्थलको प्रवेशद्वारमा जेनजी विरोधको नाममा भएको तोडफोडले सुरक्षा खतरालाई संकेत गर्दछ । सुरक्षा बिना निर्वाचन गराउन सक्ने अवस्था रहँदैन । त्यसैले संयमतासहित निर्वाचनको वातावरण तयार पार्नु सबैको दायित्व हुनेछ । देशमा राजनीतिक शून्यता भएको बेला यसको निकास निकाल्नु सबै नागरिकको दायित्व हुनेछ । त्यसमा नयाँ र पुराना राजनीतिक दलको भूमिका उतिकै हुन्छ ।जेनजीहरुले आफ्ना माग सम्बोधनका लागि संसद भित्रको संख्या स्थापीत गर्न चुनावी कार्यक्रम लिएर नागरिकसम्म जानुपर्ने समय छ । पुराना दलले बिगारे भन्ने मनस्थितिबाट आन्दोलनको उद्घोष गरेका जेनजीहरु बिग्रेको बाटोमा हिडेें की बाटो सुधारेर हिड्ने प्रयत्न गरे ? भन्ने चासो यसबेला नागरिकले पनि राखिरहेका छन् ।
हामी सरकार, दलहरू र जेनजी तीनै पक्षलाई आग्रह गर्न चाहन्छौं, देशको राजनीतिक निकासका लागि सद्भाव र सहअस्तिस्व स्वीकार गरौं । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सिमरा नदोहो¥याउँ ।