काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन् ।
डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यवसायिक कार्ययोजनाकासाथ अगाडि बढाइनुपर्नेमा जोड दिएका हुन् ।
सञ्चारमन्त्री खरेलले भने,‘हामीले हुलाकलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा राम्रो कार्ययोजना बनाइयो भने पाँच वर्षभित्रमा हुलाकले राज्य र जनतालाई योगदान गर्ने बनाउन सकिन्छ ।’
उनले स्मार्ट हुलाकको कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिए । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारको पहल भएको उल्लेख गरिन् ।
उनले भनिन्,‘स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ । यो वर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट पनि विनियोजन भइसकेको छ ।’
सचिव अर्यालले हुलाक सेवालाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिइन् । उनले विस २०१९ को हुलाक ऐनलाई समयसापेक्ष बनाइनुपर्नेमा जोड दिइन् ।