विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा गत पुस १५ गते शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया मृत अवस्थामा भेटिए । ६० वर्ष उमेर भएका उनीहरु किराना पसल चलाउँथे । सामान्य उनीहरुको हत्या किन भयो ? भन्ने अनुसन्धान गर्दै जाँदा पसल चोरी गर्ने उद्देश्य देखियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो )सीआईबी(, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले अनुसन्धान गरेपछि हत्या तथा लुटपाटमा संलग्नको पहिचान गरेर चारजना पक्राउ गर्न सफल भएको छ । दुवै जनालाई कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या गरेको, हत्या पश्चात गोठमा लगी स्याउलाले छोपी, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गर–गहना र काँचो सुन ६ तोला समेत लुटपाट गरिएको थियो ।
प्रहरीको संयुक्त अनुसन्धान टोलीले अनुसन्धानमा चारजना संलग्न रहेको खुल्यो । अनुसन्धान गर्दै जाँदा यी चारैजनाले २०८१ साल असोज २६ गते ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नम्बर ४ चार्खुमा एकल महिलाको हत्यामा पनि उनीहरुकै संलग्नता खुल्यो । चार्खुमा खेति किसानी गरी बस्ने एकल महिला वर्ष ५२ कि रत्न कुमारी कटवाल (कार्की) लाई बन्चरोले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या पश्चात नगद तथा सुनका गर गहना समेत लुटपाट लिएको थियो । तर, संलग्न पक्राउ परेका थिएनन् ।
मगर दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चिशंखुगढीका संगम राई, विनोद राई, प्रकाश भुजेल र अशोक भुजेललाई नियन्त्रणमा लियो । सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार पुस १५ मा घटना गराउनेहरुले नै गत असोजमा रत्नकुमारी कटवालको पनि हत्या गरेको आरोप अनुसन्धानबाट खुलेको हो । त्यसको तीन महिनापछि उहि पाराले उनीहरुले अर्को हत्या तथा लुटपाट मच्चाएको पाइएको थियो ।
पक्राउ परेको समूहले एकान्तमा रहेका र नगद, सुन भएका व्यक्तिहरूलाई निशाना बनाउँदै क्रूरतापूर्वक हत्या गरी लुटपाट मच्चाउने गरेका थिए । दुवै घटनामा उनीहरुले प्रहार गर्ने हतियार फरक थियो तर ठाउँ भने उस्तै रहेको थियो । उनीहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो, खुकुरी, लुटिएको सुन पगालेर बनाइएको औंठी, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ। मगर दम्पतीको पसलबाट चोरी भएको रिचार्ज कार्ड पक्राउ परेकामध्ये बिनोद राईको गोजीमा भेटिएको थियो । पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।