काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता मतदान केन्द्र पुग्दा सबै प्रक्रिया व्यवस्थित र सुरक्षित देखिन्छ। तर, यो व्यवस्थाको केन्द्रमा रहने व्यक्ति हुन्– मतदान अधिकृत । मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन, सुरक्षा र निष्पक्षताको जिम्मेवारी उनकै काँधमा हुन्छ ।
निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृत नियुक्त भएपछि निर्वाचनसम्बन्धी अनिवार्य तालिममा सहभागी हुनुपर्छ। साथै, मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, मतदाता सूची, छापलगायतका सामग्री रुजु गरी बुझिलिनुपर्ने व्यवस्था छ।
मतदान अधिकृतले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर सहायक मतदान अधिकृत, कर्मचारी, स्वयंसेवक तथा सुरक्षाकर्मीसँग समन्वय गर्छन्। मतदान केन्द्र समयमै निर्माण गर्ने, मतदानअघि मतदाता परिचयपत्र वितरण गर्ने तथा कर्मचारीहरूलाई कामको बाँडफाँट गर्ने जिम्मेवारी पनि उनकै हुन्छ।
मतदान सुरु भएपछि मतदातालाई मतपत्र दिनुअघि त्यसमा हस्ताक्षर गर्ने, मतदान प्रक्रिया शान्त, व्यवस्थित र निष्पक्ष ढंगले सञ्चालन भइरहेको छ कि छैन भन्ने विषयमा निरन्तर अनुगमन गर्ने दायित्व मतदान अधिकृतको हुन्छ। मतदानको अवस्थाबारे समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ।
मतदानका दिन केन्द्रमा आउने पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता तथा घुम्ती टोलीलाई मतदानको अवस्थाबारे जानकारी गराउने, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने र कुनै पनि गैरकानुनी गतिविधि हुन नदिन सतर्कता अपनाउनु मतदान अधिकृतको अर्को महत्वपूर्ण जिम्मेवारी हो।
मतदान सम्पन्न भएपछि मतपेटिका शिलबन्दी गरी मुचुल्कासहित सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउनुपर्छ। साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको प्रमुख कर्तव्य हुने निर्वाचन आयोगले जनाएको छ।