विराटनगर । २०७९ सालको निर्वाचनमा समानुपातिक मत हेर्ने हो भने मोरङ ४ मा नेपाली काँग्रेस सबैभन्दा अग्रस्थानमा छ । काँग्रेसले १९ हजार ५५५ मत पायो । प्रत्यक्षमा माओवादीले गठबन्धनबाट जित्यो । तर, समानुपातिक मत ९ हजार ७६० प्राप्त गरेको थियो । जबकी एमाले प्रत्यक्षमा उपविजेता हुँदा, १८ हजार ३८६ मत समानुपातिकमा ल्याएको थियो । यो क्षेत्रमा राप्रपा पनि समानुपातिकतर्फ ७ हजार ८४६ मत र रास्वपा ७ हजार २७० मतसहित चौंथो र पाँचौं देखिएका थिए ।
यसरी हेर्दा यो पटक गठबन्धनमा लगातार दुई पटक जीत हात पारेका मोदीका लागि ह्याट्रिक बनाउन फरक कसरत गर्नुपर्ने अनुमान गरिएको छ । यस पटक नेपाली काँग्रेसका गुरुराज घिमिरे निर्वाचन होमिएका छन् । उनी संघीय निर्वाचनको पहिलो अनुभव लिदैंछन् । यस अगाडी उनी प्रदेशसभा सदस्य निर्वाचनमा एक पटक पराजित बनेर चुनावी दौडको अनुभव भने लिइसकेका छन् ।
तर, अहिले घिमिरे नेपाली काँग्रेसका एक युवा नेता भनेर मात्रै सम्बोधन गरिने स्थानमा छैनन् । उनी नेपाली काँग्रेसको महामन्त्री हुन् । काँग्रेसको महामन्त्री देशभरका कार्यकर्ता परिचालन गर्ने हर्ताकर्ता मात्रै नभई अवसर सिर्जना गर्ने भान्से समेत मानिन्छ । विद्रोही स्वभावका घिमिरे चुनावी मैदानमा प्रवेश गरिसकेका छन् । क्षेत्रभरमा समानुपातिक मत सबैभन्दा बढी रहेका कारण पनि उनी चुनावी मैदानका बलिया देखिन्छन् । अनि गठबन्धनमा निर्वाचित हुँदै आएका मोदीका लागि बढी चुनौती पनि ।
२०७४ र २०७९ का दुईटा निर्वाचनमा दलहरुबीच गठबन्धन भएका थिए । २०७४ मा एमाले–माओवादी र २०७९ मा काँग्रेस–माओवादी । गठबन्धन भइरहँदा मोरङ ४ मा भने दुवै पटक मोदी नै उमेदवार बनेका थिए । त्यसको कारण हो, यो थारु बाहुल्य क्षेत्र । तर, २०७९ प्रदेशसभामा पराजित भएपछि ओरालो लागे भनिएका गुरु घिमिरे काँग्रेसको महामन्त्री बनेर निर्वाचनमा आएका हुन् । उनको आन्तरिक पार्टी राजनीतिको सिँढी आमनिर्वाचनका लागि सहज खुड्किलो पार गर्ने साधन बन्ने अनुमान गरिएको छ ।
उनी यसपटक पार्टीको पदाधिकारी तहमा पुगेर संघीय निर्वाचन लड्दैछन् । भने, २०७४ र २०७९ मा लगातार दुईपटक यही क्षेत्रबाट जितेका नेपाल कम्युनिष्ट पार्टीका अमनलाल मोदी सिंगल छन् । समानुपातिकतर्फको मत विश्लेषण गर्दा कमजोर पार्टी संगठनबीच सिंगल फ्रेमका उम्मेदवार हुन् । जसका लागि क्षेत्रमा थारु बाहुल्य भावनाले बढी काम गर्नुपर्ने अवस्था छ । उनी निर्वाचित क्षेत्रको ग्रामथान गाउँपालिकामा नमोनारायण माझी उपनिर्वाचनमा अध्यक्षमा नेपाली कम्यूनिष्ट पार्टीबाट निर्वाचित भएका थिए । यो उनका लागि प्लस र माइनस दुवै हुनसक्दछ । उनका कतिपय कार्यशैलीले मोदीलाई मतदान गर्नेहरुको मनोभावना भड्काउन पनि काम गरेको कतिपयले अनुमान गरेका छन् । कतिपयले भने माझी काम गर्ने कुरामा दृढतापूर्वक लाग्ने र भ्रष्टचार रोक्न शुन्य सहनशीलताको विधीमा जाने नेता हुन् पनि भन्छन् ।
त्यस बाहेक पनि समानुपातिकमा दोस्रो मत प्राप्त गर्दै आएको नेकपा एमालेबाट जीवन घिमिरे उमेदवार रहेका छन् । कोशीका पूर्व सामाजिक विकास मन्त्री घिमिरे, सिंगो पार्टीप्रति देशभर विश्वास कम भएको बेला उमेदवार भएपनि व्यक्तिगत रुपमा खराबको सूचिमा पर्दैनन् । उनी प्रदेश सरकारको मन्त्री हुँदा लोककल्याणकारी कामले चिनिएका नेतामा पर्दछन् । तर, यतिबेला एमाले र त्यसको चुनाव चिन्ह सुन्दा धेरैले नाक खुम्च्याउने समय उनका लागि हानिकारक हुनसक्ने कतिपयले बताउँछन् । एमालेप्रति सद्भाव राख्ने तर पार्टीमा नखुल्ने मतहरुका लागि यसपाली राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार काफी हुने कतिपयको बुझाई छ । यो बुझाईका लागि यो क्षेत्रमा सन्तोष राजबंशी उमेदवार बनेका छन् ।
अहिलेको नयाँ माहौलमा राजबंशी पनि धेरै मत ल्याउने उमेदवारमा पर्ने देखिन्छन् । युवा उमेरका सन्तोष अहिले घरदैलोमा छन् । उनले क्षेत्रभरका राजबंशीहरुको मत एकलौटी पार्ने संभावना बढी छ । त्यस बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा एकोहोरिने मतले कसलाई बढी असर गर्छ भन्ने अहिले नै अनुमान गर्नसकिने अवस्था छैन । चुनावी प्रचारमा रहेका सन्तोषले यस पटक बालेन र रबिको पार्टीलाई नागरिकले स्थापीत गर्न पनि मतदान गरेर विजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार विनोद परियारको उम्मेदवारी रद्द भएसँगै क्षेत्र नम्बर ४ मा १९ जना उमेदवार रहेका छन् । मोरङको ४ नम्बर क्षेत्रमा विराटनगर महानगरपालिकाको १, २ ३, ८ र १० नम्बर वडा समेटिएका छन् । त्यस बाहेक ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाको ५, ६ र ७ नम्बर वडा पनि छन् । एक लाख १९ हजार २५५ जना मतदाता छन् ।
माओवादीका मोदी २०७९ मा विजेता बन्दा कांग्रेस, एकीकृत समाजवादीको साथ थियो । उनले ३० हजार ६१२ मत प्राप्त गरेका थिए । एमालेबाट उमेदवार भएका विनोद ढकालले २४ हजार ४६३ मत पाएका थिए । राप्रपाले ७ हजार ४ सय ६८ मत पाएको थियो । रास्वपाका नेत्र शिवाकोटीले ५ हजार ३३३ मत पाएका थिए । यस पटक राप्रपाबाट माधव आचार्य उम्मेदवार रहेका छन् ।
यी सबै उमेदवारको बीचमा मोदी ह्याट्रिक गर्न चाहन्छन् । २०७४ मा एमालेसँगको गठबन्धनमा कांग्रेसका महेश आचार्यलाई पराजित गरेपछि मोदी बढी चर्चाको केन्द्रमा छन् । आगामी निर्वाचन उनका लागि यी दुई कार्यकालमा गरेका कामको ब्याज प्राप्त गर्ने अवसर मानिएको छ । नेतृत्वको तवरमा उनी सकारात्मक र आधारभूत वर्गका लागि सजिला व्यक्तिको रुपमा चिनिन्छन् । उनको यो विशेषताले नै निर्वाचन पूर्वको अनुमानमा सहज जीत निकाल्न सक्ने नेताको रुपमा परिचय गराउने गरिएको छ । यद्यपी नागरिकका सजिला भनिएका मोदीलाई अहिलेको बदलिएको परिवेश काँग्रेस–एमालेको कमजोरीले निम्त्याएको देखाउने एउटा विधी हुनसक्छ । त्यस बाहेक जेनजी आन्दोलनले उठाएका एजेण्डा आफ्नै पार्टीले विगतमा उठाउँदा काँग्रेस–एमालेले नमानेर छोड्नु परेको रिभिजन गराउने बाटो छ । नयाँ शक्तिबाट उठेका उमेदवारले क्षेत्रको नेतृत्व गर्नसक्लान् नसक्लान् तर अहिलेसम्म जनमनका बोलिले भने पुराना दलहरुका उम्मेवारद जतिसुकै बलवान भएपनि कमजोर सावित गराईदिने आवाज झन् बलियो बन्दै गएको सुनिन्छ ।
यस बाहेक पनि यो क्षेत्रमा तवरेज अख्तर आलम जनता समाजवादी पार्टी, नेपाल, जीवनकुमार गुप्ता जनमत पार्टी, जयराम थारु नेपाल मजदुर किसान पार्टी, गोल्छा राई मंगोल नेशनल अर्गनाईजेशन, हरनु मुसर संघीय लोकतान्त्रिक मञ्च, कृष्णकुमार अटल श्रम संस्कृति पार्टी, हरीबहादुर बस्नेत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी), हरी नारायण चौधरी नागरिक उन्मुक्ति पार्टी, नेपाल, कल्पना देवी यादव राष्ट्रिय निर्माण दल, नुमा लिम्बु समावेशी समाजवादी पार्टी, अशोक शर्मा आम जनता पार्टी छन् । यसैगरी स्वतन्त्रमा भक्तमणी दाहाल, विनोदकुमार कार्की र ज्ञानेन्द्र खत्री रहेका छन् ।