विराटनगर । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएपनि सजाय भुक्तान नगरेका फरार प्रतिवादी खोज्न मोरङमा प्रहरी तल्लिन भएको छ । निर्वाचनमा सुरक्षा चुनौती मानिएका छन्, कारागारबाट फरार प्रतिवादी र प्रहरीबाट लुटिएका हतियार । यी हतियार गत भदौ २४ गते जेनजी आन्दोलनको कभरमा लुटिदाँ संलग्नता भने कारागारका कैदी बढी रहेकोे भनिदै आएको छ ।
निर्वाचनमा यिनै हतियार र कारागारबाट फरार रहेका कैदी बढी जोखिम हुने भएपछि त्यसको खोजीमा प्रहरी सक्रिय भएको छ । यहि क्रममा फैसला कार्यान्वयन नगरेकाहरु मोरङमा धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले अभद्र व्यवहारमा दोषी ठहर भई ८÷८ हजार जरिवाना तोकिएका विराटनगर–१ का दिपेश कामत र मो.कामत, बैंकिङ कसुरमा २ लाख जरिवाना र तीन दिन कैद भुक्तान गर्नुपर्ने कटहरी १ निवासी बतासी देवी राजबंशी, यसैगरी नकावजनी चोरीमा एक महिना कैद र १३ हजार ५५० जरिवाना ठहर भएका विराटनगर २ का अनिल सरकारलाई पक्राउ गरेर अदालत बुझाएको छ ।
यसैगरी अभद्र व्यवहारमा दोषी ठहर भई १०० रुपिँया जरिवाना तोकिएका सुन्दर हरैंचा–९ का विर बहादुर अधिकारी अभद्र व्यवहारमै ५०० जरिवाना तोकिएका राजेन्द्र अधिकारी, मनोज अधिकारी (सुन्दरहरैंचा १०) र पाँच हजार जरिवाना ठहर भएका पथरीशनिश्चरे ७ का पवन जैसवाललाई पक्राउ गरेर अदालतमा बुझाएको जानकारी दिइएको छ ।
