मोरङको रंगेली नगरपालिका २ स्थित बेतौनाका ४५ वर्षीय सहमद हुसेन नजिकै नविन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल किन्न पुगे । उनले एउटा रेडबुल खरिद गर्दा एक हजारको नोट निकालेर पुरीलाई दिए । रेडबुल खरिद गर्दा एक हजारको नोट साटेका उनले फेरी उज्जल ढकालको किरानामा पुगेर उधारो तिर्दा अर्को हजारको नोट दिए । घटना दुईदिन अगाडी माघ १३ गतेको हो । बेलुकाको ८ बजे हुसेन रेडबुल खरिद गरे लगतै ढकालको किनारामा उधारो बुझाउन गएका हुन् । हेर्दा उस्तै देखिने तर कागज जस्तो हजारको नोट बारे पुरी र ढकाल दुवैलाई शंका पलायो । त्यसपछि प्रहरीसम्म यो खबर पुग्यो । मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार त्यसपछि उनी नियन्त्रणमा परे ।
नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गर्दा हुसेनले चलाउँदै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारीमा अन्य नोट रहेको खुल्यो । सफारीको चालक बस्ने सिटको (डिकी)मा पाँच थान नोट बरामद भयो । त्यसपछि हुसेनसँगको प्रारम्भिक सोधपुछमा अर्को रहस्य खुल्यो । उनको जानकारीका आधारमा प्रहरीले रंगेली नगरपालिका २ कमलझोडा बस्ने ४३ वर्षीय महेन्द्र मेहताको घर पुग्यो । घर खालतलासी गर्दा नक्कली नोट थान बरामद भयो । प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले इलाका प्रहरी कार्यालयले अनुसन्धान अगाडी बढाएको छ । हुसेन र मेहताको घरबाट नौ हजार नक्कली नेपाली रुपैँया बरामद गरेको छ ।
यस अगाडी गत पुसमा काठमाण्डौंमा जुत्ता खरिद गर्ने क्रममा फेक करेन्सीका योजनाकारसम्म प्रहरी पुगेको थियो । जस क्रममा भोजपुरी गायक, नेपाल–भारत क्रस बोर्डरमा कारखाना चलाएर बसेको फेला पारेको थियो । त्यसपछि भारतमा बसेर नक्कली नोट छाप्दै नेपाली बजारमा पठाउने बाराकै फेटा गाउँपालिका–३ घर भएका २८ वर्षीय रविकुमार श्रीवास्तव समातिएका थिए । भारतीय प्रहरीको सहयोगमा बिहार मोतिहारी लाला टोल पनौनामा अपरेसन चलाएर श्रीवास्तलाई पक्राउ गरेर काठमाडौं लगिएको थियो ।
बिहारबाट सीमा जोडिएको मोरङमा अहिले नक्कली नोट फेला पर्न थालेको छ । निर्वाचनमा आर्थिक चलायमान हुन्छ । यस्तो बेला फेक करेन्सीका कारोबारी बढी सक्रिय हुने गरेका छन् ।
नक्कली नोटका मुख्य नाइके श्रीवास्तव नै रहेको प्रहरीको दावी थियो । बिहारस्थित उनको कारखानाबाट प्रहरीले ५ वटा गड्डीमा भारु ५०० दरका ३१७ थान नक्कली नोट, छाप्न ठिक्क पारिएका हजार दरका नेपाली नोट, छाप्ने मेसिनसमेत बरामद गरेको थियो ।
तर, यो समूह पक्राउ पर्दा समेत नेपाली बजारमा नक्कली नोट भेटिन थालेको छ । श्रीवास्तले भने ९ लाख रुपैयाँ नेपाली बजारमा पठाइसकेको प्रहरीसमक्ष स्वीकारेका छन् । आरोपीले नै ९ लाख हजार दरका नोट नेपाली बजारमा पठाएको बताएकाले अझै नक्कली नोट फेला पर्ने सम्भावना बाँकी नै छ । बजारमा फेला पर्ने नक्कली नोटलाई निर्वाचनसँग जोडेर पनि विश्लेषण गरिन्छ । निर्वाचन निजिकिँदा पैसाको फ्लो बजारमा बढ्ने हुँदा त्यही मौकामा नक्कली नोट घुसाएर कारोबार गर्ने पुरानै शैली रहेको छ । आपराधिक मनोवृत्ति भएका व्यक्ति जहिले पनि मौकाको खोजीमा हुने हुँदा उनीहरुले निर्वाचनलाई मौका मान्ने गर्दछन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म करिब चार लाख नेपाली रुपैयाँ बराबरका नक्कली नोट बरामद भएका छन् । जसअनुसार कोशी प्रदेशमा चालु वर्षकोे ६ महिनाको अवधिमा नक्कली नोटसम्बन्धी २ वटा मुद्दा दायर भएका छन् । जसमा ४ जना पक्राउ पर्नुका साथै ३८ हजार नेपाली नक्कली रुपैयाँ र ३६ हजार ५०० नक्कली भारु बरामद भएका छन् ।