विराटनगर । मोरङको नरग्राम माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सुरक्षा बिश्वकर्माले गत माघ १४ गते घरभित्रै प्राणन्त गरिरहेको अवस्थामा परिवारले फेला पा¥यो । बुबाआमा रामबहादुर र बिष्णुमायाका लागि यो नसोचेको घटना थियो । १६ वर्षीया छोरीलाई बलियो र दर्भिलो बनाउन नजिकैको न्यू सेभ कराँते एकाडेमीमा पठाउने गरिएको थियो । थ्रिस्टेप ब्राउन बेल्ट लिएकी छोरीसँग बाबुआमाले गर्भ गरिरहेका थिए । तर, छोरीको निर्णयले घटनापछिका दिन बाबुआमाका लागि नसोचेको झै भइरहेको छ ।
नरग्राम माध्यमिक विद्यालयको कक्षा ९ मा नै अध्ययनरत १६ वर्षीया श्रीजा बिष्टले समेत प्राणन्त गरेको १४ दिन बितेको छ । सुरक्षा वा श्रीजा दुवै कराँते सिकेका छात्रा हुन् । बुबा युवराज बिष्टका अनुसार छोरीको यो निर्णयले दुःख बाहेक परिवारले केहि भोगेको छैन । तर, मृत्युको कारण पनि फेला पार्न सकिएको छैन । छोरीलाई सामान्य मानसिक समस्या देखिएपछि १४ दिनसम्म अस्पतालमा राखेर माघ २ गते घर फर्काइएको थियो । माघ १८ गते छोरीले गलत निर्णय लिएपछि अहिलेसम्म दुःख बाट बाहिर निस्कन मात्र खोजिएकाले मृत्युको कारण बुझ्न नसकेको बुबा युवराजको भनाई छ ।
सुुरक्षा वा श्रीजा मात्रै हैन माघमा एउटै कराँते एकाडेमीका जाने गरेका तीनजना छात्राहरुले एकै निर्णय लिइएको खुलेको छ । विद्यालयका प्राचार्य कैलास केसीका अनुसार तीनमध्ये दुईजना छात्रा आफ्नो कक्षाको कक्षा ९ अध्ययनरत थिए । दुवै छात्राको निधनले प्रशासन सोचमग्न बनेको छ । यद्यपी कारण बारे जानकारी हुन सकेको छैन । उनका अनुसार बुढीगंगामा माघ महिनामा एकै उमेर समूहका तीनजना छात्राले एउटै तरिकाबाट प्राणन्त रोजेपनि आफ्नो विद्यालयका दुईजना हुन् । प्राचार्य केसीले सुरक्षाको पछिल्लो एक महिनायता कक्षा कम उपस्थिति थियो । श्रीजाले विदा बस्नुपर्ने कारण परिवारले नै जानकारी दिएको थियो ।
मोरङका प्रहरी नायव उपरीक्षक कवित कटुवालले घटनापछिका दिनमा प्रहरीले सत्यतथ्य केलाउन लागिरहेको छ । अहिले सुरक्षा बिश्वकर्माको घटनामा प्रहरीले परिवारको अनुरोध अनुसार मोवाइलको डिजिटल फरेन्सिक परीक्षण गराई रहेको छ । तर, परिवारले गरेको शंकाको आधारमा नै अहिले आत्माहत्या दुरुत्साहनको आरोपमा कसैलाई नियन्त्रणमा लिनसक्ने स्थिति छैन । तर, घटनापछिका कतिपय ‘सिक्वेन्स’ले प्रहरीलाई गम्भीर बनाएको प्रहरी उपरीक्षक कटुवालको भनाई छ ।
पीडित रामबहादुर बिश्वकर्माले भने छोरीलाई बलियो बनाउन कराँते खेलाएको बताउँदै न्याय माग्नुपर्ने स्थितिमा पुगेको बताए । उनले प्रहरी, मानवअधिकार आयोग, पत्रकार र आम समाजले सत्यतथ्य बाहिर ल्याउन सहयोग गरिदिन आसा व्यक्त गरेका छन् । उनले आफ्नो छोरीमाथि यौन हिंसा गरेर त्यसको फोटो अन्य व्यक्तिका मोवाइलमा पठाएको खुलेको दावी गरेका छन् । जसले यो काम गरेको छ, त्यसैले अहिले फोटोहरु डिलिट गरेको खुलेको छ । सुरक्षाका परिवारले न्यू कराँते सेफ एकाडेमीका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिदिन माग गरेका छन् । प्रहरी भने प्रमाण नजुट्दासम्म काम नबढाउने भनिरहेको छ ।