बिराटनगर बैशाख १४,
मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ स्थित अमाहीबरियातीमा इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा आज नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायका हरेक समस्या सम्बन्धित क्षेत्रमै पुगेर समस्या समाधानकालागी सम्भव भएमा तत्काल समाधान गर्ने र सम्भब नभए सरोकारवाला निकायसम्म गुनासा तथा समस्याहरु पुर्याउने र समाधानका लागी पहल गर्ने गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको थियो । साथै नागरीक प्रहरी बिचको सम्बन्ध अझ सुदृढ बनाउने, प्रहरीप्रति नागरीकका अपेक्षाहरु समेत जानकारी हुने भएकाले उक्त कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जीब बाबु खड्काले बताउनु भयो । बिगतमा यस क्षेत्रमा यस्ता कार्यक्रम नभएको र जन गुनासो सम्बन्धित निकायमा प्रत्यक्ष सुनाउन पाएकाले पनि स्थानीय बासिन्दाले यस कार्यक्रमलाई अत्यन्तै सकारात्मक रुपमा लिएका छन । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधी, स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु, नागरीक समाज लगायत उक्त क्षेत्रका बासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।